हेटौंडा सिमेन्टको क्लिङ्‍कर उत्पादन ठप्प
News Desk
Oct-01 , 2020 तारिख 01:27 बेलुका

मकवानपुर — आश्विन १५, २०७७। 

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादनको काम बन्द भएको छ । उद्योगको प्रि–हिटर फ्यानमा समस्या आएपछि गत असोज ४ देखि उद्योगको काम बन्द गरेर मर्मतको काम भइरहेको छ ।

भारतबाट प्राविधिक मगाएर मर्मत थालिएकामा फ्यान मर्मतको काम सकिन अझै करिब एक साता लाग्ने उद्योग प्रशासनले जनाएको छ । ‘१० दिनदेखि उद्योग बन्द छ । अहिले प्राविधिक लगाएर धमाधम मर्मतको काम गरिरहेका छौं,’ उद्योगका इन्जिनियर रामप्रित चौधरीले भने । मर्मतका लागि असोज २० गतेसम्मको तालिका नै तयार गरिएको उनले जानकारी दिए । ‘यसअघि उत्पादन भई भण्डारण गरिरहेको क्लिङ्करले सिमेन्ट उत्पादन भने भइरहेको छ । अझै दुई सातासम्म सिमेन्ट उत्पादन गर्न पुग्ने क्लिङ्कर भने स्टक छ,’ उनले भने । हाल उद्योगमा एक लाख बोराभन्दा बढी सिमेन्ट स्टक रहेको चौधरीले बताए ।

सिमेन्टको बिक्री पनि घटेको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णको भनाइ छ । ‘असारअघि दैनिक करिब १० हजार बोरा सिमेन्ट बिक्री भइरहेको थियो । तर हाल ५ देखि ६ हजार बोरा मात्रै बिक्री हुने गरेको छ,’ उनले भने । उद्योगको बिक्री महाशाखाका अनुसार कोभिड–१९ को प्रभावका कारण सिमेन्ट बिक्रीमा ह्रास आइरहेका बेला निजी सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएपछि हेटौंडा सिमेन्टको बिक्री कम हुँदै गएको हो ।

कोभिडका कारण भएको लकडाउनयता उद्योग पटक–पटक बन्द भएको छ । चैतयता उद्योग करिब ३ महिनाभन्दा बढी बन्द भयो । कोइला आयात नहुँदा चैत र वैशाखको बीचमा एक महिना र असारदेखि भदौसम्म करिब दुई महिना उद्योगको क्लिङ्कर उत्पादन बन्द गर्नुपरेको कर्णले बताए ।

सिमेन्ट उद्योग २ वर्षदेखि लगातार घाटामा छ । आर्थिक वर्ष ०ं७५/७६ मा १ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको उद्योगले ०७६/७७ मा करिब ५ करोड रुपैयाँ घाटा बेहोरेको उद्योगको लेखापरीक्षणबाट देखिएको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको