साबिक विजेता मुम्बई शीर्षमा
News Desk
Oct-02 , 2020 तारिख 09:17 बिहान

अन्तिम ५ ओभरमा कप्तान रोहिन शर्मा, किइरोन पोलार्ड र हार्दिक पान्ड्याले अविश्वसनीय ब्याटिङ गरेपछि मुम्बईले उत्कृष्ट पुनरागमन गरेको हो ।  

अबुधाबी —आश्विन १६, २०७७। 

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गरेको छ । अन्तिम ५ ओभरमा कप्तान रोहिन शर्मा, किइरोन पोलार्ड र हार्दिक पान्ड्याले अविश्वसनीय ब्याटिङ गरेपछि मुम्बईले उत्कृष्ट पुनरागमन गरेको हो ।

पहिलो १५ ओभरमा १ सय २ रनमात्र जोड्न सकेको मुम्बईले अबुधाबीस्थित शेख जायेद रंगशालामा ४ विकेट गुमाई १ सय ९१ रन बनायो । जवाफमा पन्जाबले ८ विकेट गुमाई १ सय ४३ रनमात्र बनाउन सक्यो ।

मुम्बई विजयपछि पाँचौं स्थानबाट शीर्षस्थानमा उक्लेको छ । यद्यपि मुम्बई र पन्जाबले ४–४ खेल खेलेका छन् भने अन्य ६ टोलीले ३–३ खेल खेलेका छन् । मुम्बईको यो दोस्रो जित हो । पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित मुम्बईले त्यसपछिका एक खेल जितेको थियो । चारमध्ये तेस्रो खेल हारिसकेको पन्जाब छैटौं स्थानमा झरेको छ ।

मुम्बईले अन्तिम ५ ओभरमा ८९ रन जोडेको थियो । १६औं ओभरमा रोहितले जेम्स निसमलाई दुई चौका र दुई छक्का प्रहार गर्दा मुम्बईले २२ रन जोडेको थियो । १७ औं ओभरको पहिलो बलमा मोहम्मद सामीले रोहितलाई आउट गर्दै केवल ५ रन खर्चेका थिए । हार्दिकले १८औं ओभरमा निसमलाई दुई चौका र १ छक्का प्रहार गर्दा मुम्बईले १८ रन जोड्यो । मुम्बईले सामीको १९ औं ओभरमा १९ र कृष्णप्पा गौथमको इनिङ्सको अन्तिम ओभरमा ४ छक्कासहित २५ रन जोडेको थियो ।

हार्दिक र पोलार्डले मात्र इनिङ्सको अन्तिम २३ बलमा ६७ रनको अविजित साझेदारी गरे । म्यान अफ द म्याच पोलार्ड २० बलमा ३ चौका र ४ छक्का प्रहार गरी ४७ तथा हार्दिक ११ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ३० रनमा अविजित रहे । क्विन्टन डी ककलाई पहिलो ओभरमै सेल्डोन कोट्रेलले बोल्ड गरेपछि दबाबमा आएको मुम्बईले चौथो ओभरमा सूर्यकुमार यादवलाई १० रनमा रनआउटबाट गुमाएको थियो ।

रोहितले मुम्बईबाट सर्वाधिक ७० रन बनाए । उनले ४५ बल खेली ८ चौका र ३ छक्का प्रहार गरे । इशान किशनले ३२ बल खेली १ चौका र १ छक्कासहित २८ रन बनाए । कोट्रेलले ४ ओभरमा २०, सामीले ४ ओभरमा ३६ रन खर्चेर समान १–१ विकेट लिए । गौथमले १ विकेट लिनेक्रममा ४ ओभरमा ४५ रन खर्चे । कुनै विकेट लिन नसकेका निसमले ४ ओभरमा ५२ रन खर्चन पुगे ।

पन्जाबबाट सर्वाधिक रन बनाउने सूचीमा अगाडि रहेका ओपनर जोडी मायंक अग्रवाल २५ र केएल राहुल १७ रनमा आउट भए । करुण नैरले खाता खोल्न भ्याएनन् । निकोलस पूरनले टोलीबाट सर्वाधिक ४४ रन बनाए । उनले २७ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । ग्लेन म्याक्सवेल ११ रनमा आउट भए । गौथम १३ बलमा २ चौका र १ छक्का प्रहार गरी २२ रनमा अविजित रहे ।

मुम्बईका जसप्रित बुमराहले ४ ओभरमा १८, राहुल चहारले ४ ओभरमा २६ र जेम्स प्याटिन्सनले ४ ओभरमा २८ रन खर्चेर २–२ विकेट लिए । ट्रेन्ट बोल्ट र हार्दिकले १–१ विकेट लिए । शुक्रबार चेन्नई र सनराइजर्स हैदराबादबीच दुबईमा खेल हुनेछ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको