News Desk
अबुधाबी — आश्विन १६, २०७७।
अहिलेसम्म भारतीय कप्तान विराट कोहलीका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) सुखद रहन सकेको छैन । भारतीय क्रिकेटका रन मेसिन उनी प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंग्लोरका लागि चुपचाप जस्तै छन् । विपक्षी बलरले उनलाई बाँधेर राख्न सफल भएका छन् । अहिलेसम्म बेंग्लोरले तीन खेल खेलेको छ । त्यसमध्ये दुईमा जित निकालेको छ ।
यो टिमका लागि ठीकठाकको प्रदर्शन नै हो । तर ब्याटबाट भने कोहली असफल जस्तै छन् । यी तीन खेलमा उनले जम्माजम्मी १८ रन बनाएका छन् । ती तीन इनिङ्समा उनको प्रदर्शन यस्तो छ १४, १ र ३ । तय छ, अबका खेलमा पनि उनलाई सजिलो हुने छैन । यदि अहिलेको लय आधार मान्ने हो भने उनको समर्थकका लागि यो पचाउन गाह्रो प्रदर्शन छ ।
किनभने कोहलीको विशेषता नै हो, उत्कृष्ट एकनासे प्रदर्शन । आईपीएल इतिहासमै उनी सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । उनले अहिलेसम्म ५ हजार ४ सय ३० रन बनाइसकेका छन् । सन् २०१६ को सिजन त गज्जब जस्तै रह्यो । उनले त्यस एक संस्करणमा एक्लैले ९ सय ७३ रन बनाए, १६ खेलमा । त्यतिबेला उनको औसत थियो, ८१.०८ रन । त्यसमा चार गज्जब शतक सामेल थियो ।
तर त्यही कोहली अहिले आफ्नो खेलजीवनकै नाजुक मोडमा छन् । भलै, यसपल्टको प्रतियोगितामा केही बिग्रेको छैन । यसअघि उनको व्यक्तिगत प्रदर्शन राम्रो हुन्थ्यो, तर बेंग्लोर आफैले उपाधि जित्न सकेका थिएनन् । यसपल्ट टिमको प्रदर्शन त भविष्यमै सीमित छ अनि उनको व्यक्तिगत प्रदर्शन उच्च रहने सकेको छैन । यस्तो स्थितिमा पनि कोहलीको समर्थनमा उत्रेका छन् सुनिल गावस्कर । गावस्करलाई विश्वास छ, यसपल्ट पनि कोहलीले राम्रै लय समात्ने छन् । कम्तीमा ५ सयको हाराहारीमा रन बनाउने छन् । यसअघि तिनै गावस्करविरुद्ध कोहलीपत्नी तथा नायिका अनुष्का शर्माले चर्को विरोध गरेका थिए । गावस्करमाथि आरोप लागेको थियो, श्रीमानको खराब प्रदर्शनमा श्रीमतीका रूपमा अनुष्कामाथि दोष लगाइएको भनेर । गावस्करले यसलाई अस्वीकार गरिसकेका छन् ।
अहिले यो घटना चिसिइसकेको छ । बरू अहिले तिनै गावस्करले भनेका छन्, ‘सबैलाई थाहा छ, कोहली अब्बल दर्जाका खेलाडी हुन्, त्यसैले सुरुआती तीन इनिङ्समा कमजोर भयो भन्दैमा उनको धेरै आलोचना गर्न मिल्दैन । उनी यस्ता ब्याट्सम्यान हुन्, जसले मज्जासँग आलोचकको मुख बन्द गर्न सक्छ । प्रतियोगिता अगाडि बढेपछि कोहलीले लय समात्नेमा म पूरा विश्वास राख्छु ।’ गावस्करले थपेका छन्, ‘अहिलेसम्म कोहलीको प्रदर्शन पक्कै पनि सुस्त छ । तर जति बेला प्रतियोगिता अन्त्यतिर पुग्नेछ, उनको ब्याटबाट ५ सयको हाराहारीमा रन निस्किसक्ने छ । यसअघिका प्रतियोगितामा उनले निकै राम्रो गरेका छन् । त्यसैले कुनै पनि हालतमा उनको प्रदर्शनलाई अहिले नै कमजोर मान्नु मिल्दैन् ।’ बेंग्लोरका समर्थकलाई विश्वास रहनेछ, कोहलीबारे गावस्करको दाबी साँचो सावित होस् ।
(कान्तिपुर दैनिक)