News Desk
काठमाडौं — आश्विन १६, २०७७।
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी वर्गीकरणमा गरेको निर्णयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघका कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा दुर्गाराज पाठक र अमितवीर पाण्डे सदस्य रहेको खेलाडी वर्गीकरण समितिले बुझाएको प्रतिवेदनलाई असोज ६ गते चितवनमा सम्पन्न क्यान बोर्ड बैठकले पारित गरेको थियो ।
ग्रेड ‘ए’ मा परेका ५ खेलाडीलाई १५, ग्रेड ‘बी’ मा परेका ८ खेलाडीलाई १२ र ग्रेड ‘सी’ मा परेका ६ खेलाडीलाई १० हजार मासिक तलब दिने क्यानको बोर्ड बैठकले पारित गरेको थियो । पुरुषतर्फ ग्रेड ‘ए’ का ८ खेलाडीलाई ५० हजार, ग्रेड ‘बी’ मा परेकालाई ४० र ग्रेड ‘सी’ मा परेका खेलाडीलाई ३० हजार मासिक तलब प्रदान गर्ने जनाउँदै क्यानले पुरुष खेलाडीको मासिक तलबमा १० हजार वृद्धि गरेको थियो ।
‘तर उक्त वर्गीकरणमा केही महत्त्वपूर्ण खेलाडीको नाम छुट्न र वर्गीकरणमा न्यायोचित नभएको भनी खेलाडीले गुनासो गर्दै निवेदन आएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ क्यानद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ संघले पुनः खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गरी सुझावसहित वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेस गर्न अनुरोध गरिएको छ ।’
(कान्तिपुर दैनिक)