निजी अस्पताल र मेडिकल कलेज संघहरूको आन्दोलनरत नर्सप्रति अपमानजनक व्यवहारप्रति गम्भीर आपत्ति
News Desk
Oct-20 , 2025 तारिख 07:26 बिहान

काठमाडौं, कार्तिक ३ नर्सहरूको तलब स्केलसम्बन्धी विषयमा स्वास्थ्य मन्त्रालयमा भएको औपचारिक वार्ताका क्रममा देखिएको अपमानजनक व्यवहारप्रति निजी अस्पताल र मेडिकल कलेज संघहरूले कडा आपत्ति जनाएका छन।

एसोसिएसन अफ प्राइभेट हस्पिटल्स इन नेपाल (आफीण्) र एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत नर्स पक्षले वार्ताको क्रममा प्रयोग गरेका अपमानजनक शब्द, अनुचित व्यवहार र “माफिया” लेखिएका प्लेकार्ड प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन।

विज्ञप्तिमा भनिएको छ, “हामी संवाद, सहकार्य र सम्मानका आधारमा समस्या समाधान गर्न सधैं प्रतिबद्ध छौं। तर, वार्ताको क्रममा भएको यस्तो व्यवहारले आपसी विश्वासमा आघात पुगेको छ र बार्ताको वातावरण नै बिगारेको छ।” संघका प्रतिनिधिहरू त्यस अवस्थापछि वार्ताको कक्षबाट निस्कन बाध्य भएको उल्लेख गरिएको छ।

संयुक्त विज्ञप्तिमा यस्ता घटना दोहोरिनु राज्य पक्षको कमजोरी र असन्तुलित व्यवस्थापनको परिणाम भएको आरोप लगाइएको छ। संघहरूले सरकारको ढिलाइ, अस्पष्ट नीति र असमान व्यवहारका कारण यस्तो अप्रिय परिस्थिति उत्पन्न भएको दाबी गर्दै घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन।

निजी अस्पतालहरूले देशभरका बिरामीलाई निरन्तर सेवा दीरहेको र आगामी दिनमा पनि सरकार तथा स्वास्थ्यकर्मीहरूसँग सहकार्यका माध्यमबाट न्यायोचित समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन।

तर, विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ, “यदि भविष्यमा यस्तै अपमानजनक व्यवहार दोहोरिएमा, हामी आफ्ना सदस्य संस्थाको प्रतिष्ठा र स्वाभिमानको रक्षा गर्न आवश्यक कदम चाल्न बाध्य हुनेछौं।”

संयुक्त विज्ञप्तिमा डा. ज्ञानेन्द्रमान सिंह कार्की र हरिप्रसाद रिजाल, वरिष्ठ उपाध्यक्षका हस्ताक्षर छन।