जिरुडले उछिने प्लाटिनीलाई
News Desk
Oct-09 , 2020 तारिख 09:34 बिहान

लन्डन — आश्विन २३, २०७७। 

चेल्सीका ओलिभियर जिरुड फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने दोस्रो खेलाडी भएका छन् । यस क्रममा उनले मिचेल प्लाटिनीलाई उछिनेका छन् ।

फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीफूर्ण खेलमा युत्रेनलाई बुधबार ७–१ ले हराउँदा जिरुडले यो उपलब्धि हात पारेका हुन् । फ्रान्सका लागि सयौंपल्ट खेल्दै ३४ वर्षीय जिरुडले ४२ औं गोल गरेका थिए ।

फ्रान्सका लागि सबैभन्दा बढी गोल गरेको कीर्तिमान थिएरी हेनरीको नाममा छ । अब हेनरीको त्यो प्रदर्शनबाट जिरुड ९ गोलले पछाडि छन् । त्यस खेलमा फ्रान्सका लागि पहिलो गोल १७ वर्षीय एडुवार्डो कामाभिन्गाले गरे । उनी फ्रान्सका लागि गोल गर्ने दोस्रो कान्छो खेलाडी बने ।

बुधबारको अर्को महत्त्वपूर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेले । पोर्चुगलका दुई प्रहार पोस्टमा लागेर फर्केको थियो । त्यसमध्ये एक प्रहार युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा रह्यो । जर्मनी र टर्कीले ३–३ को बराबरी खेले । इटालीले माल्दोभालाई ६–० ले हरायो । फ्लोरेन्समा भएको यो खेलमा ३३ वर्षे फ्रान्सेस्को क्यापुटो डेब्यू खेलमा गोल गर्ने इटालीका पाका खेलाडी भएका छन् ।

(एजेन्सी/कान्तिपुर दैनिक)