पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा
News Desk
Oct-09 , 2020 तारिख 04:37 बेलुका

काठमाडौं — आश्विन २३, २०७७। 

लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ। आयोगका अनुसार बढुवा, समावेशी, खुला तथा आन्तरिक गरी करिब ५ सय पदमा विज्ञापन खुलाउन तयारी भएको हो।

आयोगका प्रवक्ता देवीप्रसाद सुवेदीले असोजको अन्तिम बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने निर्णय आयोगको बोर्डबाट भएको बताउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा संसद् सचिवालयबाट सहसचिव र उपसचिव पद रिक्त संख्या प्राप्त भएको बताए।

आयोगले हरेक वर्ष असोज अन्तिम बुधबारदेखि विज्ञापन खुलाउन सुरु गर्छ। यो क्रम चैतको अन्तिम बुधबारसम्म रहन्छ। जसअनुसार आयोगले असोजको अन्तिम बुधबार सहसचिव, उपसचिव पदमा तथा कात्तिक महिनाको अन्तिम बुधबार प्राविधिक पदमा विज्ञापन आह्वान गर्ने गरेको छ। यसैगरी मंसिरको अन्तिम बुधबार शाखा अधिकृत पदमा विज्ञापन आह्वान गर्ने गरेको छ। असोज पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई विज्ञापन खुलाउन आग्रह गर्ने निर्णय गरेको आजको नागरिक दैनिकमा खवर छ ।

Related Post