सक्रिय लगानीकर्ता ३ लाख ३७ हजार मात्र
News Desk
Oct-13 , 2020 तारिख 11:41 बिहान

काठमाडौँ — आश्विन २७, २०७७। 

दोस्रो बजारमा सेयर कारोबारका लागि ३ लाख ३७ हजार ३ सय ६० जना मात्र सक्रिय लगानीकर्ता छन् । पुँजी बजारमा करिब १८ लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आए पनि सक्रिय लगानीकर्ताको संख्या साढे ३ लाखभन्दा कम रहेको नेप्सेको तथ्यांक छ ।

गत भदौ दोस्रो साता यो संख्या २ लाख ८८ हजार थियो । गत चैत ६ मा भने यस्तो संख्या २ लाख ३१ हजार थियो । यो नियामक निकायको निर्देशनअनुसार हरेक वर्ष ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गरेको लगानीकर्ताको संख्या हो । तीमध्ये पनि दैनिक रूपमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या कम छ ।

कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउन र त्यसपछि पनि दोस्रो बजारमा अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने लगानीकर्ता उच्च दरले बढेका छन् । सोही क्रममा गएको एक महिनामा अनलाइन सेयर कारोबारका लागि करिब ६० हजार लगानीकर्ता थपिएको नेप्सेले जनाएको छ । कोभिड–१९ को जोखिम बढेसँगै सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबारका लागि प्रोत्साहन गरेकोलगायत कारण अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने संख्या बढेको नेप्सेको तर्क छ ।

यही असोज पहिलो सातासम्म करिब १ लाख २० हजार ५ सय जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । गत भदौ दोस्रो साता यस्तो संख्या ६४ हजार ६ सय १६ थियो । गत साउन र भदौमा करिब ४० हजार लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका थिए । लकडाउन सुरु हुनुअघि (गत चैत ११ अघि) यस्तो सख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो ६ महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब १ लाखले बढेको देखिन्छ ।

झन्डै २ अर्बको सेयर कारोबार

सेयर बजारमा सोमबार झन्डै २ अर्ब रुपैयाँबराबरको सेयर किनबेच भएको छ । करिब ३२ हजार कारोबारबाट १ सय ८९ कम्पनीका ६८ लाख १५ हजार ७ सय १० कित्ता सेयर किनबेच भए । उक्त किनबेचबाट १ अर्ब ९४ करोड रुपैयाँ परिचालन भएको नेप्सेले जनाएको छ । सो दिन नेप्से १.७४ अंकले मात्र बढेर १ हजार ५ सय ७८.०१ बिन्दुमा बन्द भएको हो । आइतबार उच्च अंकले बढेको वित्त कम्पनी समूहको परिसूचक सोमबार भने घटेको छ । यो दिन वित्त कम्पनी समूहको परिसूचक १.३५ प्रतिशत घटेको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको