News Desk
काठमाडौं । सामुदायिक स्वास्थ्य सेवा परिषद् स्वयम्भूले लक्षित वर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ। परिषद्ले जारी गरेको सूचनाअनुसार काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडाका ज्येष्ठ नागरिक (६८ वर्षभन्दा माथि), महानगरका कर्मचारी, जनप्रतिनिधि, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक विकास विभागबाट सिफारिस भई उपचार आवश्यक भएका व्यक्तिहरूलाई परिषद्मा उपलब्ध सेवाहरू निःशुल्क प्रदान गरिनेछ।
परिषद्का अनुसार लैङ्गिक हिंसा पीडित महिला, बालबालिका तथा बेवारिस अवस्थाका व्यक्तिहरूलाई पनि आवश्यक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ। यस कार्यक्रमको उद्देश्य लक्षित वर्गका नागरिकलाई सहज, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु रहेको परिषद्ले जनाएको छ।
परिषद्ले सम्बन्धित सेवाग्राहीहरूलाई आवश्यक कागजातसहित सेवा लिन आउन अनुरोध गरेको छ। स्वयम्भूस्थित परिषद्को कार्यालयमार्फत उक्त सेवा सञ्चालन भइरहेको छ।