News Desk
काठमाडौँ — आश्विन २८, २०७७।
प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा बुधबार निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित गायिका पहाडीको उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।
दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेकपाबाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् ।
ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय रुपमा सहभागी भएकी थिइन् ।
उनको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत पहाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
(कान्तिपुर दैनिक)