News Desk
काठमाडौँ — आश्विन २८, २०७७।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानीमा पुरानै मूल्य कायम हुने प्रस्ट्याएको छ । व्यवसायीले आफूखुसी मूल्य बढाएपछि विभागले पुरानै मूल्यमा बिक्री नगरे उपभोक्ता संरक्षण ऐन र कालोबजार ऐनअनुसार थुनामा राख्ने चेतावनी दिएको छ ।
‘व्यवसायीले बढाएको मूल्य फिर्ता लिने भनेका छन् । अन्यथा कारबाही प्रक्रिया अघि बढाउँछौं,’ विभागका प्रवक्ता रवीन्द्र आचार्यले भने, ‘नेपाल बोटलर्स बाटर एसोसिएसनले गरेको निर्णयको माइन्युट मगाएर त्यसका आधारमा कार्यसमिति सबैलाई कार्टेलिङ गरेको आरोपमा थुन्छौं ।’ उनका अनुसार विभागको समन्वयबिना व्यवसायीले जथाभावी मूल्य तोक्न मिल्दैन ।
विभागले भदौ १० देखि लागू हुने गरी जारको पानीको मूल्य अधिकतम ५० रुपैयाँ तोक्ने निर्णय गरेसँगै संसदीय समितिले त्यसलाई तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । विभागले पनि संसदीय समितिको निर्देशन पालना गर्दै निर्णय स्थगन गरेको छ । तर बजारमा व्यवसायीले वाणिज्यको निर्णय भन्दै मूल्य बढाएका छन् ।
विभागले पुरानै मूल्य कायम हुने बताए पनि व्यवसायीले भने बुधबार नयाँ मूल्य सार्वजनिक गर्दै छन् । सरकारको कार्यदलकै सिफारिसमा मूल्य निर्धारण गरिएको एसोसिएसनका महासचिव ध्रुव गौतमको दाबी छ । ‘हिजोअस्ति वाणिज्यले किन हस्ताक्षर गर्यो, उसकै निर्णयबाट मूल्य तोकेका छौं,’ उनले भने, ‘बिचौलियका कारण उद्योग बन्द गर्ने अवस्थामा पुगेका छौं । बुधबार केन्द्रीय कार्यसमिति बैठकपछि यस विषयमा थप निष्कर्षमा पुग्छौं । सरकारसँग कुरा नमिले आन्दोलनमा उत्रिन्छौं । उद्योगको साँचो सरकारलाई बुझाउँछौं ।’
(कान्तिपुर दैनिक)