News Desk
काठमाडौँ – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार गरिएका विभिन्न अस्पतालबाट प्राप्त विवरण संकलन गरी सार्वजनिक गरेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनका क्रममा देशभरका ९९ वटा अस्पतालमा उपचार गरिएका घाइतेहरूको विवरण संकलन गरिएको हो। ती अस्पतालहरूमा गरी कुल दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको तथ्यांक प्राप्त भएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार घाइतेको विवरण संकलन गर्ने कार्य निरन्तर भइरहेको भए पनि केही अस्पतालबाट विवरण ढिलो प्राप्त भएकाले सबै तथ्यांक सार्वजनिक गर्न समय लागेको हो। “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेहरूको विवरण सङ्कलन गरिरहेका थियौँ। केही अस्पतालबाट विवरण ढिलो प्राप्त भएकाले सार्वजनिक गर्न ढिलाइ भयो। अहिले सबै विवरण गृह मन्त्रालयलाई पठाइसकिएको छ,” प्रवक्ता डा. बुढाथोकीले बताउनुभयो।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत असोज ३१ गते दुई हजार ५२२ जना घाइतेको विवरण पठाइएको थियो भने माघ ४ गते थप ७७ जना र फागुन २९ गते थप ३९ जनाको विवरण गृह मन्त्रालयमा पठाइएको छ।
प्रवक्ता बुढाथोकीका अनुसार सबैभन्दा धेरै घाइतेको उपचार काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा भएको छ, जहाँ चार सय ५८ जना उपचारका लागि पुगेका थिए। त्यसैगरी नेपाल पुलिस अस्पतालमा दुई सय तीन, राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ९० र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक सय आठ जना घाइतेको उपचार गरिएको विवरणमा उल्लेख गरिएको छ।