News Desk
मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस विरुद्धको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन्। खोप लगाउनेमध्ये १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन्।
जिल्लाका आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको यस अभियानमा उल्लेखनीय प्रगति भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालय प्रमुख केशव चापागाईंका अनुसार मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१ दशमलव १ प्रतिशतले खोप सेवा लिइसकेका छन्। स्थानीय तहसँगको समन्वय र सहकार्यका कारण अभियान प्रभावकारी रूपमा अघि बढिरहेको उहाँले बताउनुभयो।
जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार जिल्लाभर खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ। विशेषगरी मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा उल्लेखनीय प्रगति देखिएको छ, जहाँ क्रमशः ४९ दशमलव आठ प्रतिशत र ४७ प्रतिशत खोप लगाइएको छ।
पछिल्ला वर्षहरूमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै ३५ वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरी चैत १ गतेदेखि ५ गतेसम्म यो अभियान सञ्चालन गरिएको हो। अभियानमार्फत करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
स्वास्थ्य कार्यालयका तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापानिज इन्सेफलाइटिसका १५ जना सङ्क्रमित फेला परिसकेका छन्, जसमध्ये छ जनाको मृत्यु भएको छ। यसअघि आर्थिक वर्ष २०७९/८० मा सात जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जनाको ज्यान गएको थियो भने २०८०/८१ मा आठ जनामा सङ्क्रमण देखिँदा एक जनाको मृत्यु भएको थियो।
स्वास्थ्यकर्मीहरूले खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले निर्धारित लक्ष्य हासिल हुने विश्वास व्यक्त गरेका छन्।