बहराइनका राजकुमारले गरे मनास्लुको सफल आरोहण
News Desk
Oct-15 , 2020 तारिख 08:47 बिहान

गोरखा —  आश्विन २९, २०७७। 

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

बिहीबार बिहान ६ बजेर १० मिनेटमा राजकुमार खलिफा शिखरमा पुगेको सेभेन समिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ पुर्खा शेर्पाले जानकारी दिए ।

मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो । आरोहण दलमा सुरक्षा टोली र नेपाल तथा हल्यान्डका आरोहण गाइडसहित ५० जनाभन्दा बढी सहभागी रहेको सेभेन समिट ट्रेक्सले जनाएको छ । तिनमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने मिङ्मा शेर्पा र छाङदावा शेर्पा, अक्सिजनबिनै सगरमाथा चढ्ने कान्छा आरोही टासीलाक्पा शेर्पा, २४ पटक सगरमाथा चढेर कीर्तिमान बनाएका कामीरिता शेर्पा पनि थिए ।

सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलोपटक हो । यसअघि असोज १७ गते राजकुमारको टोलीले सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गरेको थियो ।

(कान्तिपुर दैनिक)