बीपी प्रतिष्ठानमा थप ४ जना कोरोना संक्रमितको मृत्यु
News Desk
Oct-15 , 2020 तारिख 10:26 बिहान

सुनसरी — आश्विन २९, २०७७। 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मृतकहरुमा धरान उपमहानगरपालिका–९ की ४४ वर्षीया महिला, सोही वडाका ५८ वर्षीय पुरुष, इटहरी उपमहानगर–२० की ७५ वर्षीया महिला र तेह्रथुमका ३१ वर्षीय पुरुष रहेका छन् ।

धरान–९ की ४४ वर्षीय महिलालाई असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि २८ गते प्रतिष्ठानको कोभिड आस्पतालमा भर्ना गरिएको थियो । उनको हिजो बुधबार अपराह्न सवा ३ बजे मृत्यु भएपनि औपचारिक जानकारी भने प्रतिष्ठानले बिहीबार साढे १० मात्र दिएको छ । सोही वडाका ५८ वर्षीय पुरुषलाई असोज २५ गते कोरोना संक्रमण पुष्टि भएपनि २८ गतेमात्र कोभिड अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन राति ११ बजेर ५५ मिनेटमा मृत्यु भएपनि बिहीबार मात्रै जानकारी दिइएको हो ।

यसैगरी इटहरी–२० की ७५ वर्षीया कोरोना संक्रमित महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उच्च रक्तचापको समस्यासमेत रहेकी उनलाई असोज २८ गते कोरोना संक्रमण भएपछि बुधबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको मध्यराति १२ बजेर ५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिएका छन् ।

धनकुटा जिल्ला अस्पतालबाट रिफर गरिएका तेह्रथुमकाका ३१ वर्षीय कोरोना संक्रमित पुरुषलाई असोज १० गते नै कोरोना संक्रमण पुष्टि भएको थियो भने ११ गते बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको आज (बिहीबार) बिहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

(कान्तिपुर दैनिक)