संसदमा देखिएको अमर्यादित गतिविधिबारे छानबिन गर्न समिति गठन
News Desk
Jun-02 तारिख 05:52 बिहान • आज

काठमाडौं । प्रतिनिधिसभाको जेठ १७ गते बसेको बैठकका क्रममा केही सांसदबाट भएको भनिएको अमर्यादित तथा आपत्तिजनक व्यवहारबारे छानबिन गर्न संसदीय जाँचबुझ समिति गठन गरिएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डिपी अर्यालले उक्त जानकारी गराउँदै संसद सचिवालयका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको बताउनुभयो। संसद नियमावली, २०८३ को नियम ३३ (४) बमोजिम गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

सभामुख अर्यालका अनुसार समितिमा संघीय संसद सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख सदस्यका रूपमा रहनेछन्।

समितिले घटनासम्बन्धी आवश्यक अध्ययन तथा तथ्य संकलन गरी प्रतिवेदन पेश गर्नेछ। प्राप्त प्रतिवेदनका आधारमा प्रतिनिधिसभा नियमावलीको नियम ३१ (४) अनुसार आवश्यक कारबाहीका लागि सिफारिस गर्न सकिने व्यवस्था रहेको पनि सभामुखले स्पष्ट पार्नुभयो।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।

धेरै पढिएको