News Desk
पक्राउ पर्ने व्यक्ति सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थली बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वास रहेको प्रहरीले जनाएको छ। उनी विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समा ग्राउन्ड इक्युपमेन्ट अपरेटर (जिईओ) का रूपमा कार्यरत थिए।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार विश्वासलाई सोमबार राति करिब ८ः३० बजे बटिक एयरको उडान नम्बर ओडी–१८१ मार्फत मलेसियाको क्वालालम्पुर जान लागेका बेला पक्राउ गरिएको हो। उनी भिजिट भिसामा यात्रा गर्न लागेका थिए।
सुरक्षा जाँचका क्रममा उनको कालो रंगको लगेजभित्र फलामको कराइमा लुकाएर राखिएको अवस्थामा नेपाली तथा विदेशी मुद्रा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार उक्त रकम आवश्यक कानुनी प्रक्रिया पूरा नगरी विदेश लैजान खोजिएको आशंका गरिएको छ।
प्रहरीले राहदानी तथा यात्रा विवरण जाँच गर्दा सम्बन्धित मुद्राको वैधानिक दरपिठ (डिक्लेरेसन) नभेटिएको जनाएको छ। साथै, उनले विगतमा विभिन्न समयमा २६ पटक विदेश यात्रा गरेको तथ्य पनि खुलेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार घटनासम्बन्धी थप अनुसन्धानका लागि विश्वासलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ।
प्रहरीले घटनाको प्रकृति, रकमको स्रोत तथा विदेश लैजानुको उद्देश्यबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।