राष्ट्रपति पौडेलद्वारा जातीय विभेद उन्मूलन दिवसमा एकता र समावेशिताको आह्वान
News Desk
Jun-04 तारिख 06:05 बिहान • आज

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक एकता, समानता र समावेशी समाज निर्माणतर्फ सबैलाई प्रतिबद्ध हुन आग्रह गर्नुभएको छ।

शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भाव कायम रहोस् भन्ने कामना व्यक्त गर्नुभएको छ। उहाँले यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायलाई सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

विसं २०६३ जेठ २१ गते नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गते यो दिवस मनाइँदै आएको हो। सो अवसरको स्मरण गर्दै राष्ट्रपति पौडेलले संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधतालाई स्वीकार गर्दै समावेशी र समानतामूलक समाज निर्माणको लक्ष्य लिएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार जातीय विभेद तथा छुवाछूत अन्त्य केवल कानुनी व्यवस्थाले मात्र सम्भव नभई सामाजिक चेतना, सहिष्णुता र आपसी सम्मानको विकास अनिवार्य छ। विविधताबीचको एकतालाई बलियो बनाउँदै समतामूलक समाज निर्माणमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।

राष्ट्रपति पौडेलले जातीय विभेदलाई मानव गरिमाविरुद्धको गम्भीर अपराधका रूपमा व्याख्या गर्दै यस विरुद्ध राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सबै सरोकारवाला पक्ष अझ बढी जिम्मेवार र संवेदनशील बन्नुपर्ने आह्वान गर्नुभएको छ।

उहाँले सामाजिक सद्भाव, मेलमिलाप र समानताको भावना प्रवर्द्धन गर्दै लोकतान्त्रिक मूल्यलाई सार्थक बनाउन सामूहिक प्रयास आवश्यक रहेको पनि जोड दिनुभएको छ।

धेरै पढिएको