News Desk
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अध्ययन बिदामा गई लामो समयसम्म सेवामा नफर्किएका प्राध्यापकहरूबाट रकम फिर्ता गर्ने प्रक्रिया तीव्र भएको छ। हालसम्म ४१ जना प्राध्यापकबाट करिब १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम असुल भई विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ।
विश्वविद्यालयका अनुसार अध्ययन बिदाको दुरुपयोग गरी सेवामा नफर्किएका १९१ प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरिसकेका छन्। छानबिन समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार थप ६२ जना प्राध्यापकले रकम तिर्ने प्रतिबद्धता जनाउँदै निवेदन दिएका छन्। त्यसमध्ये ५४ जनालाई औपचारिक रूपमा पत्राचार गरिएको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सक्रियता र निर्देशनपछि त्रिविले अध्ययन बिदा दुरुपयोग प्रकरणमा अनुसन्धान तथा असुली प्रक्रिया तीव्र पारेको हो। मन्त्रालयले कबुलियतनामा अनुसार रकम फिर्ता गर्न कडाइका साथ निर्देशन दिएको छ।
त्रिवि स्रोतका अनुसार अध्ययन बिदामा गई सेवामा नफर्किएका प्राध्यापकहरूका कारण विश्वविद्यालयलाई करिब दुई अर्ब रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ। विश्वविद्यालय नियमअनुसार शिक्षक–कर्मचारीले अधिकतम पाँच वर्षसम्म अध्ययन बिदा पाउने व्यवस्था छ।
छानबिन समितिका संयोजक काफ्लेले रकम फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको बताउँदै बाँकी प्राध्यापकहरूलाई पनि छिटो रकम बुझाउन आग्रह गरेका छन्। उनले तोकिएको समयमा सम्पर्कमा नआउनेहरूलाई कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिएका छन्।
त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति डा. सुशीलबहादुर बज्राचार्यले पनि अध्ययन बिदा दुरुपयोग गर्नेहरूले नियमअनुसारको बिगो रकम छिटो फिर्ता गरेर प्रक्रिया सहज बनाउन आग्रह गरेका छन्।
यसअघि त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार डा. जीवन काफ्लेको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले अध्ययन बिदाको दुरुपयोगबारे विस्तृत अध्ययन गर्दै ३९८ प्राध्यापक संलग्न रहेको निष्कर्ष निकालेको थियो। समितिले अध्ययन बिदामा गएका तर नफर्किएका १९१ जना तथा अध्ययन पूरा नगरी फर्किनुपर्ने २०७ जनाको विवरण तयार पारेको छ।
समितिले रकम असुलीका लागि पटक–पटक सूचना जारी गर्दै आएको छ भने अटेर गर्नेहरूको नाम सार्वजनिक गर्ने तयारीसमेत भइरहेको जनाइएको छ।