तराईका जिल्लामा तातो लहरको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह
News Desk
Jun-05 तारिख 06:31 बिहान • आज

काठमाडौँ l जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न तराई क्षेत्रहरूमा तापक्रम अत्यधिक बढ्ने सम्भावना रहेको भन्दै तातो लहर (Heatwave) सम्बन्धी विशेष बुलेटिन जारी गरेको छ। विभागले आज अपराह्न ४ बजे सार्वजनिक गरेको सूचनामा आगामी तीन दिनसम्म देशका धेरै प्रदेशमा उच्च तापक्रम रहने चेतावनी दिइएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने सम्भावना छ। मौसमविद् सरोज पुडासैनीका अनुसार आज भैरहवामा तापक्रम ४१ डिग्री सेल्सियस र नेपालगञ्जमा ४० डिग्री सेल्सियस मापन भएको छ, जसले गर्मीको तीव्रता अझ बढेको संकेत गर्दछ।

विभागले विशेषगरी मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा आगामी तीन दिनसम्म मध्यम तातो लहर रहने सम्भावना औँल्याएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि तातो दिन रहने पूर्वानुमान गरिएको छ।

मौसम विभागले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन सबै नागरिकलाई आग्रह गरेको छ। विशेषगरी दिउँसोको समय अनावश्यक बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा गर्मीबाट बच्ने उपायहरू अपनाउन सुझाव दिइएको छ।

धेरै पढिएको