नेपालगन्जमा ‘रुपान्तरणका लागि प्रविधि’ राष्ट्रिय सम्मेलन आजदेखि सुरु
News Desk
Jun-06 तारिख 05:59 बिहान • आज

 

नेपालगन्जमा आजदेखि “रुपान्तरणका लागि प्रविधि” विषयक दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ। लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानअन्तर्गतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा उक्त सम्मेलन आयोजना गरिएको हो।

इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज केसीका अनुसार प्राविधिक ज्ञानलाई व्यवहारिक रूपमा उपयोग गरी समाजमा देखिएका समस्याको समाधान खोज्ने उद्देश्यले सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। सम्मेलनमा विभिन्न विषयमा आधारित नौ वटा प्राविधिक सत्रहरू सञ्चालन गरिने छन्।

विश्वविद्यालयका उपकुलपति प्राडा. विनोदप्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताहरूले आफ्ना अनुसन्धान प्रस्तुत गर्ने अवसर पाउने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष प्यानल छलफल हुने जानकारी दिनुभयो। साथै विभिन्न क्षेत्रका विज्ञहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको पनि उहाँले बताउनुभयो।

उपकुलपति ढकालका अनुसार नेपालगन्जलाई प्रविधि केन्द्र (टेक हब) का रूपमा विकास गर्ने दिशामा यो सम्मेलनले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस्तै, विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक रेगबहादुर भण्डारीले विश्वविद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताउनुभयो।

सम्मेलन संयोजक चतुर्भुज भट्टका अनुसार करिब २५० जना वक्ता, विषयविज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहेको छ।

धेरै पढिएको