News Desk
दुई दशकको अनुभव, प्रविधिमैत्री सोच र व्यवसायीका मुद्दामा निरन्तर सक्रियता; वैदेशिक रोजगार क्षेत्रलाई आधुनिक र व्यवस्थित बनाउने प्रतिबद्धता
काठमाडौं ,नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचन नजिकिँदै जाँदा सचिव पदका उम्मेदवार नवराज लुइटेल व्यवसायीहरूका बीच एक सक्षम, अध्ययनशील र दूरदर्शी नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन्। ओमेगा इन्टरनेशनल प्रालिका सञ्चालक लुइटेल आदरणीय हरिबहादुर पाण्डे क्षेत्री नेतृत्वको स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट सचिव पदका उम्मेदवार हुन्।
करिब दुई दशकदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय रहेका लुइटेलले व्यवसायका समस्या, चुनौती र सम्भावनालाई नजिकबाट नियालेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा युरोपेली श्रम बजारप्रति नेपाली युवाको आकर्षण बढ्दै गएसँगै व्यवसायीहरूले भोगिरहेका कानुनी, प्रशासनिक र नीतिगत समस्याबारे उनले निरन्तर आवाज उठाउँदै आएका छन्। यही अनुभव र बुझाइका आधारमा उनले संघको नेतृत्व तहमा पुगेर व्यवसायीहरूको पक्षमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन्।
लुइटेलका अनुसार वैदेशिक रोजगार क्षेत्र अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। एकातिर नयाँ श्रम गन्तव्यहरूको विस्तार भइरहेको छ भने अर्कोतिर कानुनी जटिलता, नीतिगत अस्पष्टता, लागत वृद्धि, प्रशासनिक झन्झट र व्यवसायीमाथि बढ्दो दबाबले क्षेत्रलाई चुनौतीपूर्ण बनाइरहेको छ। यस्तो अवस्थामा व्यवसायीका वास्तविक समस्या बुझ्ने, समाधान खोज्न सक्ने र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको उनको भनाइ छ।
व्यवसायीहरूका बीच पनि लुइटेललाई व्यवहारिक सोच भएको, समस्या समाधानमा केन्द्रित रहने र संस्थागत विकासका पक्षमा निरन्तर लाग्ने व्यक्तिका रूपमा लिइन्छ। संघभित्र मात्र होइन, समग्र वैदेशिक रोजगार क्षेत्रलाई समयअनुकूल बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको विषयमा उनले लामो समयदेखि वकालत गर्दै आएका छन्।
सूचना प्रविधि सम्बन्धी ज्ञान र अनुभवलाई वैदेशिक रोजगार क्षेत्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै लुइटेलले नेपाल सरकारले अघि बढाइरहेको डिजिटल शासनको अवधारणासँग तालमेल हुने गरी वैदेशिक रोजगार क्षेत्रलाई पनि पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। उनका अनुसार अहिले व्यवसायीहरूले विभिन्न कार्यालय, विभागीय प्रक्रिया तथा कागजी झन्झटका कारण अनावश्यक समय र खर्च व्यहोर्नुपरेको अवस्था छ।
यही समस्याको समाधानका लागि सम्पूर्ण व्यवसायीहरूको आवश्यकता समेट्ने एकीकृत तथा आधिकारिक डिजिटल एप प्लेटफर्म निर्माण आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताएका छन्। यस्तो प्रणाली लागू भएमा व्यवसायी, श्रमिक, सरकारी निकाय र सरोकारवालाबीचको समन्वय थप सहज, पारदर्शी र प्रभावकारी हुने उनको विश्वास छ।
लुइटेलले पूर्व अध्यक्ष रोहन गुरुङले अघि सारेको वैदेशिक रोजगार क्षेत्रको डिजिटल रूपान्तरणको अवधारणालाई व्यवहारमा उतार्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले व्यवसायी, सूचना प्रविधि विज्ञ, सरकारी निकाय तथा सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै आधुनिक र व्यवसायीमैत्री डिजिटल प्रणाली निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन्।
युरोप रोजगार व्यवस्थापन उनको अर्को महत्वपूर्ण एजेन्डा हो। पछिल्ला वर्षहरूमा युरोपेली मुलुकहरू नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित भइरहेका छन्। तर आवश्यक कानुनी संरचना, स्पष्ट नीति तथा प्रभावकारी समन्वयको अभावमा व्यवसायीहरूले अनेकौं कठिनाइ भोग्नुपरेको अवस्था रहेको उनको भनाइ छ। उनले युरोप लगायत नयाँ श्रम गन्तव्य मुलुकहरूमा कानुनसम्मत, सुरक्षित र व्यवस्थित व्यवसायिक वातावरण निर्माणका लागि संघको तर्फबाट प्रभावकारी पहल गर्ने बताएका छन्।
त्यसैगरी व्यवसायीका हकहितको संरक्षण, व्यवसायमैत्री नीति निर्माण, विभाग तथा सरकारसँग निरन्तर संवाद र समन्वय तथा संघलाई थप प्रभावकारी र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
व्यवसायीहरूका अनुसार लुइटेलमा नेतृत्वसँगै व्यवस्थापन क्षमता, समन्वयकारी भूमिका निर्वाह गर्ने दक्षता र प्रविधिसम्बन्धी दूरदृष्टि रहेको छ। उनी विवादभन्दा समाधानमा विश्वास गर्ने, व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकता दिने तथा व्यवसायीहरूका साझा मुद्दामा स्पष्ट धारणा राख्ने व्यक्तित्वका रूपमा परिचित छन्।
निर्वाचन अभियानका क्रममा लुइटेलले आफू निर्वाचित भए आगामी दुई वर्षे कार्यकाल पूर्ण रूपमा व्यवसायीहरूको हकहित, व्यवसायको संरक्षण, संस्थागत सुदृढीकरण र आधुनिक व्यवस्थापन प्रणाली निर्माणका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। इमानदारी, पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैलीलाई आफ्नो नेतृत्वको आधार बनाउने उनको भनाइ छ।
"सफल व्यवसायी, सुरक्षित वैदेशिक रोजगार, सम्मानित श्रमिक र उज्ज्वल वैदेशिक रोजगार हाम्रो साझा लक्ष्य हो," लुइटेलले भनेका छन्, "समयले मागेको परिवर्तन, प्रभावकारी व्यवस्थापन र डिजिटल रूपान्तरणको यात्रामा सम्पूर्ण व्यवसायीहरूको साथ, सहयोग र विश्वास आवश्यक छ।"
वैदेशिक रोजगार क्षेत्रलाई नयाँ सोच, नयाँ प्रविधि र नयाँ व्यवस्थापन संस्कृतितर्फ डोर्याउने स्पष्ट दृष्टिकोणका साथ मैदानमा उत्रिएका नवराज लुइटेललाई धेरै व्यवसायीहरूले सचिव पदका लागि सक्षम, योग्य र आवश्यक उम्मेदवारका रूपमा हेर्न थालेका छन्। युरोप रोजगार व्यवस्थापन, डिजिटल रूपान्तरण, व्यवसायीको हकहित संरक्षण तथा संस्थागत सुदृढीकरणका एजेन्डाले उनको उम्मेदवारीलाई यस निर्वाचनमा विशेष बनाएको व्यवसायीहरू बताउँछन्।