News Desk
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक, छलफल तथा संसदीय समितिमा प्रस्तुत गरिने अभिव्यक्ति तथ्यमा आधारित र मर्यादित हुनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले लामो समयदेखि इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारी तथा अधिकारीमाथि आधारहीन आरोप लगाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे।
उनले कुनै पनि व्यक्तिको निष्ठा, कार्यसम्पादन र संस्थागत गरिमामा असर पर्ने गरी जथाभावी टिप्पणी गर्दा त्यसले सम्बन्धित कर्मचारीको मनोबलमा नकारात्मक प्रभाव पार्न सक्ने बताए।
महानिरीक्षक कार्कीले प्रहरी प्रशासनसँग सम्बन्धित विभिन्न उजुरी तथा निवेदनको प्रसङ्ग उल्लेख गर्दै सबै उजुरीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने धारणा राखे। उजुरीको प्रकृति, तथ्य र आधारका विषयमा आवश्यक अध्ययन गरेर मात्रै निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ थियो।
जिम्मेवार पदमा बसेर सार्वजनिक रूपमा बोल्दा शब्द र व्यवहारप्रति विशेष संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिँदै उनले तथ्यहीन तथा प्रमाणविहीन आरोपले वर्षौंदेखि संस्थाप्रति निष्ठापूर्वक काम गरिरहेका कर्मचारीको मनोबल कमजोर बनाउन सक्ने बताए।
उनले सार्वजनिक बैठक कुनै व्यक्तिमाथि मनलाग्दी आरोप लगाउने ठाउँ नभएको उल्लेख गर्दै संस्थागत मर्यादा कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
कार्कीले भने, “आजसम्म निष्ठापूर्वक काम गरेको मान्छेलाई यहाँ ल्याएर जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला। कुनै पनि ठाउँको सामान्य मर्यादा त हुन्छ होला नि!”
उनले प्रहरी प्रशासनसँग सम्बन्धित उजुरीहरू विभिन्न निकायमा आउने गरेको उल्लेख गर्दै सबै उजुरीलाई सोही शैलीमा प्रस्तुत गरिँदा त्यसले काम गर्न कठिनाइ उत्पन्न गर्ने बताए। साथै, आफूले पनि आवश्यक परे सम्बन्धित विषय र उजुरीलाई समितिसमक्ष प्रस्तुत गर्नुपर्ने अवस्था आउन सक्ने संकेत गरे।