News Desk
काठमाडौं — कार्तिक ४, २०७७।
साउदी अरबमा कार्यरत रोल्पाका ओमबहादुर डाँगी कोरोना भाइरस महामारीका कारण ३–४ महिना बेरोजगार भए। डाँगीले अवस्था सहज भएसँगै पुनः काम गर्न थालेको एक महिना भयो। ‘अवस्था सहज भएसँगै काम सुरु भएको छ तर पारिश्रमिक अझै पाएको छैन’, उनले भने।
डाँगी मात्र होइन, कोरोनाको जोखिम बढेका बेला करिब बेतलबी बसेका प्रायः नेपाली कामदार काममा फर्किएका छन्। तर, उनीहरूले पूर्णरूपमा पारिश्रमिक तथा सेवासुविधा पाउन सकेका छैनन्। वैदेशिक रोजगारीमा रहेका ५० प्रतिशतभन्दा बढी नेपाली कामदार सेवासुविधाबाट वञ्चित देखिएका छन्।
वैदेशिक रोजगार बोर्डको अध्ययनअनुसार खाडी र मलेसियामा कोरोनाका कारण ४ लाख ७ हजार कामदार प्रभावित भएका छन्। खाडी र मलेसियामा मात्रै १३ लाख ४८ हजार ८ सय ७२ जना कार्यरत रहेको तथ्यांक छ। बोर्डको अध्ययनले वैशाखमा मात्रै २ लाख ८० हजार जनाले रोजगारी गुमाएको देखाएको थियो।
नियमित करार सकिएका र रोजगारी गुमाएका नेपाली स्वदेश फर्किन पाएका छैनन्। भारतसहित खाडी मुलुकमा ३१ लाख श्रमिक कार्यरत रहेको अध्ययनले देखाएको छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ५४ लाख ९६ हजार ४ सय ६० पुगेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।