साउदी अरबको नोटमा आफ्नो नयाँ नक्सा समेट्न भारतको माग
News Desk
Oct-30 , 2020 तारिख 05:31 बेलुका

साउदी अरबले निकालेको नयाँ नोटमा रहेको अन्तर्राष्ट्रिय सीमाका बारेमा भारतले चिन्ता व्यक्त गर्दै सुधारको माग गरेको छ।

गत साता जारी भएको नोटमाथि एक बयान जारी गर्दै भारतको विदेश मन्त्रालयले बिहीबार 'तत्काल सुधारात्मक कदम' उठाउन माग गरेको हो।

साउदीको २० रियालको नोटमा विश्वको नक्सा छापिएको छ र सो नक्सामा जम्मु-कश्मिर र लद्दाखलाई भारतको भूभागका रूपमा देखाइएको छैन।

साउदीले २० रियालको जी-२० मा आफ्नो अध्यक्षतालाई संकेत गर्न विश्वको नक्सा राखेको हो। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यस मामिलामा साउदीले तत्काल सुधारात्मक कदम उठाउनुपर्ने बताए।

'हामीले नोट हेरेका छौं र यसले भारतको बाहिरी क्षेत्रीय सीमालाई गलत तरिकाले प्रस्तुत गर्छ', उनले भने, 'हामीले हाम्रो चिन्ताका बारेमा साउदी अरबलाई भनिसकेका छौं। हामीले नयाँ दिल्लीमा रहेका उनीहरूका राजदूतसँगै रियादमा पनि भनिसकेका छौं।'

मिडिया रिपोर्टहरूका अनुसार यस नक्सामा पाकिस्तान प्रशासित कश्मिरको गिलउत-बाल्टिस्तान क्षेत्रलाई पनि पाकिस्तानको हिस्सा देखाइएको छैन।

Related Post