हुन्डी कारोबारमा संलग्‍न ३ जना एक करोड रुपैयाँसहित पक्राउ
News Desk
Nov-03 , 2020 तारिख 11:56 बिहान

काठमाडौँ — कार्तिक १८, २०७७।

प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको करिब एक करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई सोमबार बेलुका पक्राउ गरेको हो ।

मित्तलद्वय दाजुभाइ हुन् । उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । पौडेलचाहिँ मित्तलका सहयोगी हुन् । ब्युरोका डीआईजी सहकुल थापाले मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको जानकारी दिए । बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको सीआईबीले आशंका गरेको छ ।

१० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने प्रावधान छ । डीआईजी थापाका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ।