उत्पादनमा जुट्यो माथिल्लो भोटेकोसी जलविद्युत्
News Desk
Nov-03 , 2020 तारिख 12:28 बेलुका

सिन्धुपाल्चोक —  कार्तिक १८, २०७७।

निजी क्षेत्रको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाले पुनर्निर्माण सकाएर १० महिनायता ४४ मेगावाट बिजुली उत्पादन गर्दै आएको छ । आयोजनाको बाँधस्थल, विद्युत्गृहदेखि अन्य सुरुङस्थलसम्मको लगभग सबै काम सकिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रमरत्न स्थापितले जानकारी दिए ।

डेढ वर्षदेखि पुनर्निर्माण भइरहेको निजी क्षेत्रको ठूलो जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ११ ब्युरोले ‘फास्ट ट्र्याक’ मार्फत सम्पन्न गरेको उनले बताए । ‘आयोजनाको ९८ प्रतिशत काम सकिसकेको छ, बाँधस्थलभन्दा केही माथिल्लो साइड र मर्मतसम्भारको दुई प्रतिशत काम मात्रै बाँकी छ,’ उनले भने । झन्डै नयाँ जलविद्युत् आयोजना बनाए बराबरकै ७ अर्ब बराबरको लागतमा आयोजना पुनः सञ्चालनमा ल्याइएको थियो । आयोजनाको १३२ केभी विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएपछि पूर्ण क्षमताको ४४ मेगावट विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उनले उल्लेख गरे । ‘१० महिना भयो, ४० देखि ४४ मेगावाट विद्युत् उत्पादन गर्दै आयोजना प्रसारण लाइनमा जोडिएको छ, अब प्राकृतिक र अन्य अवरोध सबै समाधान भइसकेका छन्,’ उनले भने ।

कोदारी राजमार्गको दसकिलोस्थित बाँधस्थल ‘डिसआन्डर वाल’ पर्खाल र ३ दशमलव ३ किलोमिटर सुरुङको पुनर्निर्माणपछि प्राविधिक रूपमा बलियो बनाइएको छ । पेनस्टक पाइप र जेनेरेटरका सम्पूर्ण मर्मतसम्भार सकेर हेडवर्क्स, इलेक्ट्रोमेकानिकल भागका काम सबै सकाइएको छ ।

यसअघि चीनको खासा र कुतीको बीचको छेपसाङमा पहिरो आई थुनिएर आएको भोटेकोसीको बाढीले आयोजनाको बाँधस्थलमा बालुवा थेग्य्राउने पर्खाल र इलेक्ट्रोमेकानिकल भाग ध्वस्त बनाएको थियो । भूकम्पबाट झन्डै तीन अर्ब रुपैयाँ बराबरको भौतिक क्षति बेहोरेको आयोजनाको ८५ प्रतिशत काम सकिसक्दा बाढीले तहसनहस बनाएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ।  

धेरै पढिएको