News Desk
महासंघलाई उद्योगीमैत्री बनाउन आफू र आफ्नो नेतृत्व दृढ भएर लाग्ने प्रतिबद्धता
काठमाडौँ — कार्तिक १८, २०७७।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी दिएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा प्रधानको प्यानलले सोमबार उम्मेदवारी दर्ता गराएको हो ।
आगामी मंसिर ११ र १२ मा महासंघको वार्षिक साधारणसभा तथा १३ गते निर्वाचन हुँदै छ । प्रधानको प्यानलबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठसहितले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएपछि प्रधानले महासंघमा २८ वर्ष योगदान गरेको स्मरण गर्दै महासंघलाई उद्योगीमैत्री बनाउन आफू र आफ्नो नेतृत्व दृढ भएर लाग्ने प्रतिबद्धता जनाए । साना, मझौला र ठूला व्यवसायीको साझा संस्थाका रूपमा महासंघलाई स्थापित गर्ने उनको दाबी छ । उम्मेदवारी दर्तासँगै प्रधानले कोभिड–१९ बाट प्रभावित मुलुकको अर्थतन्त्र उकास्न आफूहरू केन्द्रित हुने प्रतिक्रिया दिए ।
महासंघको रूपान्तरणका लागि प्रधानलाई आफूले समर्थन गरेको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । प्रधानसहितको टिमले आफ्नो एजेन्डालाई सहयोग पुर्याउने भएकै कारण उक्त समूहसँग आशावादी रहेको उनको भनाइ छ । कोरोनाका कारण रोजगारी गुमाएकालाई नेपालमै रोजगारीको सम्भावना खोल्न निजी क्षेत्र लागिपर्ने प्रतिबद्धता जनाउँदै आफूहरू नेपाल र नेपालीको समृद्धि तथा सुखका लागि लाग्ने उनले बताए । प्रधानको मनोनयन दर्ता कार्यक्रममा पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतको उपस्थिति थियो । प्रधानलाई अध्यक्ष भवानी राणा, प्रदीपकुमार श्रेष्ठ, ज्ञानेन्द्रलाल श्रेष्ठलगायत पूर्वअध्यक्षको समर्थन छ ।
यसअघि कात्तिक ५ मा महासंघको वरिष्ठ उपाध्यक्ष पदकै लागि उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराइसकेका छन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन तालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दाखिला सूचना प्रकाशित भएको मितिबाट मंसिर ४ गते साँझ ५ बजेसम्म गर्न पाइनेछ । त्यस्तै मतदान गर्न पाउने सदस्यको पहिलो नामावली मंसिर २ मा प्रकाशित गरिने महासंघले जनाएको छ । मतदान गर्न पाउने सदस्यको नामावलीउपर दाबी विरोध गर्ने समय मंसिर ३ को बिहान ११ देखि साँझ ५ सम्म कायम गरिएको छ ।
निर्वाचन कार्यक्रम निर्वाचन समितिले तोकेका स्थान राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी, कार्की ब्याङ्केट, बबरमहल र महासंघ कार्यालय टेकुमा छुट्टाछुट्टै रूपमा हुनेछ । गृह मन्त्रालयको स्वीकृति एवं स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गरी निर्वाचन कार्यक्रम सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ । सभाको उद्घाटन ११ गते भर्चुअल माध्यमबाट गरिने महासंघले जनाएको छ ।
‘संकटलाई पार लगाउने नेतृत्व’
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्नेमा जोड दिएका छन् । कोभिड–१९ का कारण उद्योग व्यवसाय क्षेत्र बढी मारमा परेकाले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवर्द्धनमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवारसमेत रहेका ढकालले बताए ।
काठमाडौंमा सोमबार आफ्नो टिमका पदाधिकारीसहितका उम्मेदवारसँगको अन्तर्क्रियामा उनले कोभिड–१९ का कारण इतिहासमै कहिल्यै नसोचेको क्षति भोग्नुपरेको बताए । ‘अझै केकस्तो जटिलताको सामना गर्नुपर्ने हो, यसै भन्न सकिन्न,’ उनले भने, ‘त्यसैले देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाइराख्न र संरक्षण प्रदान गर्न हामीलाई बलियो काँध चाहिएको छ ।’ महासंघको आगामी नेतृत्वले मुलुकको यो जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । दुःखका बेला नेतृत्वको पहिचान हुने भएकाले आफूले महासंघको नेतृत्वमा पुगेपछि सबैले सम्झिन सक्ने र आडभरोसाको केन्द्र बन्न सक्ने गरी काम गर्ने उनको दाबी छ ।
कोभिड–१९ का कारण सिर्जित आर्थिक चुनौतीको सामना गर्न व्यक्तिगत पहल मात्रै पर्याप्त नहुने र त्यसका लागि महासंघको नेतृत्वमा सही र सक्षम व्यक्ति चयन गर्ने उपयुक्त अवसर आएको उनले उल्लेख गरे । अन्तर्क्रियात्मक भेलामा ढकाल समूहका उम्मेदवार उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघाईलगायतको उपस्थिति थियो । आजको कान्तिपुर दैनिकमा खबर छ।