News Desk
ऋणपत्र निष्कासन अनुमतिका लागि कृषि विकास बैंकले राष्ट्र बैंक र धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ
काठमाडौँ — कार्तिक १८, २०७७।
कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको कृषि विकास बैंकले तिहारलगत्तै ‘कृषि ऋणपत्र’ बिक्रीको आह्वान गर्ने भएको छ । बैंकले २४ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने योजना बनाएको छ । उसले ऋणपत्र निष्कासन अनुमतिका लागि बैंकले राष्ट्र बैंक र धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।
तिहारअघि नै ती निकायबाट अनुमति पाइने अनौपचारिक जानकारी पाइएकाले तिहारलगत्तै पहिलो चरणको ऋणपत्र जारी गर्ने आन्तरिक तयारी भएको बैंक स्रोतले बताएको छ ।
‘बैंकले २४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि अनुमति मागेको छ,’ स्रोतले भन्यो, ‘सो ऋणपत्रलाई ६/६ अर्ब रुपैयाँका दरले चार चरणमा जारी गरिनेछ ।’ चरणबद्ध रूपमा निष्कासन गर्दा रकम व्यवस्थापन गर्न बैंकलाई अतिरिक्त भार र वित्तीय प्रणालीको तरलतामा पनि प्रभाव नपर्ने बताइएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कृषि विकास बैंकलाई कृषि कर्जाको नेतृत्व गर्न अगुवा बैंक (लिड बैंक) को जिम्मा दिइएको हो । सोही व्यवस्थाअनुसार बैंकले कृषि ऋणपत्र निष्कासनको तयारी थालेको हो । कृषि विकास बैंकले ऋणपत्र अन्य वाणिज्य बैंकलाई बिक्री गर्नेछ । ऋणपत्र किनेका बैंकले सो लगानीलाई आफ्नो कृषि लगानीमा गणना गर्न पाउनेछन् ।
‘कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकका रूपमा विकास गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ, ‘कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन सो बैंकले कृषि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था मिलाइनेछ ।’ यो व्यवस्थाले कृषि क्षेत्रमा थप वित्तीय साधन परिचालन हुनुका साथै बैंक तथा वित्तीय संस्थालाई कृषि ऋणपत्रमा लगानीमार्फत तोकिएको कृषि कर्जा अनुपात कायम गर्न सहज हुने राष्ट्र बैंकको दाबी छ ।
ऋणपत्र निष्कासन सम्बन्धमा बैंकबाट आवेदन आएको र त्यसमाथि छलफल भइरहेको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले बताए । ‘फाइल अध्ययनकै क्रममा छ, अब छिट्टै टुंगिएला,’ उनले भने, ‘मौद्रिक नीतिकै व्यवस्थाअनुसार बैंकले ऋणपत्र जारी गर्न लागेकाले अनुमति दिन धेरै समय नलाग्ला ।’
बैंकले जारी गर्न लागेको ऋणपत्रको कुपनरेट (ब्याजदर) ४ प्रतिशत प्रस्ताव गरिएको छ । चरणबद्ध रूपमा जारी हुने ऋणपत्रको समयावधि पनि फरकफरक प्रस्ताव गरिएको छ । समग्रमा ऋणपत्र परिपक्वको अवधि ७ देखि १० वर्षसम्मको हुने भए पनि बैंकले हरेक चरणका लागि फरकफरक अवधि तोकेको हो । धितोपत्र बोर्डले पनि कृषि विकास बैंकको आवेदनमाथि छलफल भइरहेको बताएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि प्रक्रियागत सरलीकरण गर्न आग्रह गरेको र त्यस विषयमा आन्तरिक छलफल भइरहेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । स्रोतका अनुसार बैंकले निष्कासन प्रक्रिया छिटो र सरल बनाइदिन, चरणबद्ध रूपमा निष्कासन गर्न पाउने व्यवस्था गर्न, धितोपत्र बोर्डलाई तिर्नुपर्ने शुल्क कम गर्न, ओभर दी काउन्टर (ओटीसी) मार्केटमा कारोबारको व्यवस्था गर्न माग गरेको छ ।
यसै वर्षदेखि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले एकआपसमा गर्दै आएको कृषि कर्जा खरिदबिक्रीको व्यवस्थालाई पनि थप सरलीकरण गरिएको छ । ‘कृषकलाई वित्तीय साधनका साथै कृषि सूचना तथा जानकारी उपलब्ध गराउन कृषि विकास बैंकमार्फत ‘किसान क्रेडिट कार्ड’ को व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ । सोही व्यवस्थाअन्तर्गत क्रेडिट कार्ड वितरणको काम पनि कृषि विकास बैंकले अन्तिम चरणमा पुर्याएको बताएको छ । अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा यो क्षेत्रमा कृषि विकास बैंकको ज्ञान र अनुभव धेरै भएकाले उक्त व्यवस्था गर्न लागिएको हो । २०७३ सालदेखि सरकारले व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान दिँदै आएको छ । गत भदौसम्म २५ हजार ५ सय ८९ जनाले करिब ५७ अर्ब ४४ करोड रुपैयाँबराबर ब्याज अनुदानको कृषि कर्जा पाएका छन् । यस्तै वाणिज्य बैंकहरूले कुल लगानीको न्यूनतम १० प्रतिशत कृषिमा लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था छ । यद्यपि यो कर्जा समान रूपमा वितरण नभएको, लक्षित वर्गमा नपुगेको लगायत गुनासो आइरहेको छ । यही कारण कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिन लागिएको राष्ट्र बैंकको दाबी छ ।
हाल वाणिज्य बैंकहरूको लगानीमा रहेको कुल कर्जाको १० प्रतिशत कृषिमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । जसमध्ये बैंकहरूले करिब डेढ खर्ब रुपैयाँ कृषि कर्जा प्रवाह गर्नुपर्नेछ । पहिलो चरणमा त्यसको करिब २५ प्रतिशत जति मात्र कृषि विकास बैंकले लगानी गर्ने योजनाअनुरुप कृषि ऋणपत्र निकाल्न लागिएको बताइएको छ । विगतमा कृषि क्षेत्रमै लगानी गर्ने उद्देश्यले स्थापना भए पनि पछि कृषि विकास बैंकले पनि अन्य वाणिज्य बैंक सरह व्यावसायिक क्षेत्रमा लगानी थालेको हो । हाल कृषि विकास बैंकले कृषि क्षेत्रमा करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकको कुल कर्जाको करिब ३५ प्रतिशत हो । जब कि राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले कुल कर्जाको १० प्रतिशत मात्र कृषिमा प्रवाह गरे पुग्थ्यो ।
बैंकका अन्य गतिविधि खुम्च्याएर भए पनि कृषि कर्जालाई विस्तार गर्ने रणनीति आफूहरूको भएको बैंकले बताएको छ । चालु आवमा थप ४० अर्ब रुपैयाँ कृषि क्षेत्रमा विस्तार गर्ने योजना बैंकले बनाएको छ । जसमा २४ अर्ब रुपैयाँ ऋणपत्रमार्फत र बाँकी बैंकको आन्तरिक स्रोतबाट जुटाइने बताइएको छ । त्यसमध्ये चालु आर्थिक वर्षको तीन महिनामा कृषिमा करिब २ अर्ब रुपैयाँ लगानी भइसकेको बैंकले जनाएको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ।