भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे
News Desk
Nov-04 , 2020 तारिख 12:32 बेलुका

काठमाडौँ — कार्तिक १९, २०७७। 

भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे बुधबार दिउँसो काठमाडौं आइपुगेका छन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा उनी नेपाल आएका हुन् ।

भारतीय सेनाध्यक्ष नरवणे भारतीय वायु सेनाको विशेष विमान 'इन्डियन एयर फोर्स-३३' मार्फत काठमाडौं ओर्लिएका हुन् । उनको विमान ११ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

भारतीय सेनाध्यक्ष नरवणेको स्वागतमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

भ्रमणदलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहेको नेपाली सेनाले जनाएको छ। नेपाल र भारतबीच एकअर्को देशका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ। त्यही परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति थापाले २०७५ पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरेका थिए । यस्तो कार्यक्रम विगतमा सामान्य औपचारिकतामा सीमित रहने गरेको थियो तर केही महिनादेखि नेपाल–भारत सीमालाई लिएर कायम विवाद र नरवणे आफैंले दिएको नेपालसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण उनको भ्रमणलाई काठमाडौं र दिल्लीमा विशेष चासोका साथ हेरिएको छ ।

नेपाली सेनाले अघिल्लो साता सार्वजनिक गरेको नरवणेको भ्रमण तालिकाका अनुसार काठमाडौंमा रहँदा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट्ने कार्यक्रम रहेको छ ।

भारतीय सेनाध्यक्षको भ्रमणको विरोध हुन सक्ने भन्दै चार वटै सुरक्षा निकायलाई विशेष रुपमा परिचालन गरिएको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको