News Desk
‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौं महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न ।’
‘जथाभाबी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक सहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ ।’
काठमाडौं — कार्तिक १९, २०७७।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीको स्वस्थ जीवनप्रति संवेदनशील भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको बताए ।
कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई काठमाडौं महानगरपालिकाले सुरुदेखि नै सहयोग गर्दै आइरहेको पनि मेयर शाक्यले दाबी गरे । लकडाउन अवधिभर काठमाडौं महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने काम गरेको पनि मेयर शाक्यले बताए । लकडाउन अवधिभर काठमाडौं महानगरपालिकाले १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाएको शाक्यले बताए ।
कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भए आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको मेयर शाक्यले बताए ।
‘अहिले मुलुकमा लकडाउन छैन । यस्तो बेलामा हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ,’ मेयर शाक्यले भने, ‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौं महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न ।’
त्यस्तै काठमाडौंलाई गरिखानेहरुको सहरका रुपमा चिनाउनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको पनि मेयर शाक्यले बताए । ‘काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभाबी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक सहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ ।’
कोरोना महामारीका कारण रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाललगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पुर्याउने कुराप्रति सबै सचेत हुनुपर्ने पनि मेयर शाक्यले बताए ।
कोरोना महामारीका कारण समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिँदै महानगरपालिकासँग समन्वय गर्न पनि मेयर शाक्यले आग्रह गरेका छन् ।
‘अहिले काठमाडौंका पुरानो बसपार्कलगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ,’ मेयर शाक्यले भने ।
कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउन आवश्यक नरहेको पनि शाक्यले बताए ।
स्वास्थ्य मापदण्डलाई समेत ध्यानमा राखी सुरक्षितपूर्वक असल हेतुले त्यस्ता नागरिकलाई खाना खुवाउने कार्यमा काठमाडौं महानगरपालिका विगतका दिनमा सक्रिय रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य गर्न काठमाडौं महानगरपालिका सदैव तयार रहेको शाक्यले बताए ।
बढी भीडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले खाना खुवाउने काम भइरहेको भन्दै मेयर शाक्यले त्यसलाई व्यवस्थित र विकल्प खोज्न अनुरोध गरेका छन् ।
(कान्तिपुर दैनिक)