राइड सेयरिङ दुर्घटनामा जिम्मेवार को ?
News Desk
Nov-05 , 2020 तारिख 11:43 बिहान

काठमाडौँ — कार्तिक २०, २०७७। 

सांग्रिला विकास बैंकको नयाँ बानेश्वर शाखामा कार्यरत २५ वर्षीय इन्जोल श्रेष्ठ नयाँ जागिरका लागि अन्तर्वार्ता दिन कुमारीपाटी जानुपर्ने थियो । आफू कार्यरत बैंकबाट राजीनामा स्वीकृत भएको पत्र बोकेर भदौ ३१ मा कुमारीपाटी जान उनले बैंकअगाडि नै पठाओबाट बाइक राइडर मगाए ।

कुमारीपाटी पुग्न केही किमि बाँकी छँदै पुल्चोकको नबिल बैंकअगाडि उनी चढेको मोटरसाइकल दुर्घटनामा पर्‍यो । पठाओ चालकले अर्को एक बाइकलाई ठक्कर दिएपछि भुइँमा बजारिँदा उनका तीनवटा दाँत झरे । खुट्टामा समेत चोट लाग्यो ।

दुर्घटनालगत्तै जावलाखेलस्थित सुमेरु अस्पताल पुगेर दाँतको उपचार गराएर उनी खुट्टाको उपचार गराउन भने नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी पुगे । ‘दाँत झर्दा करिब १० दिन बोल्न सकिनँ,’ उनी भन्छन्, ‘दाँतको उपचारलाई सापटी लिएको पैसा अहिलेसम्म तिर्न सकेको छैन ।’ सानैदेखि बाथ रोगका कारण हिँड्न अप्ठ्यारो पर्ने उनको दाहिने खुट्टालाई दुर्घटनापछि सहारा चाहिने भएको छ । अस्पतालले उनले बिनासहारा हिँडडुल गर्न कम्मरमा शल्यक्रिया गरी स्टिलको सहारा राख्नुपर्ने बताएपछि उनी आर्थिक सहायताको खोजीमा छन् ।

‘शल्यक्रिया गरेर स्टिलको सहारा राख्दा ४ देखि ५ लाख लाग्ने अस्पतालको अनुमान,’ उनी भन्छन्, ‘यत्रो पैसा छ त छैन, आफूसँग भएको अलिअलि खर्च पनि बस्दाबस्दै सकियो ।’ विराटनगर घर भएका उनी चाबहिलस्थित डेरामा बस्दै आएका छन् । दुर्घटनालगत्तै फरार भएका पठाओ चालक हालसम्म सम्पर्कमा छैनन् । दुर्घटनामा दाँत भाँचिएर बोल्न नसकेपछि उनले १० दिनपछि मात्रै पठाओको जनसम्पर्क हेर्ने अधिकारीलाई फोन गरेर घटनाबारे जानकारी गराए । ‘यति ढिला किन खबर गरेको त भन्ने जवाफ आयो,’ उनी भन्छन्, ‘दाँचको उपचार गरेपछि दसैंभन्दा दुई साताअघि जावलाखेल प्रहरीमा दुर्घटनाको उजुरी गरेको छु ।’

आफ्नो एप प्रयोग गरी राइड सेयरिङ सेवा लिँदा कम्पनी जिम्मेवार नहुने बरु जसको बाइक चढेको हो, उसैले गरेको थर्ड पार्टी इन्स्योरेन्स (तेस्रो पक्ष बिमा) गर्नुपर्ने जवाफ पाएपछि बाइक चालकलाई खोज्न प्रहरीकोमा उजुरी गरेको श्रेष्ठले बताए । प्रहरीले मुद्दा प्रक्रियाका लागि अस्पतालको पत्र आवश्यक पर्ने बताएपछि उनले सुमेरु अस्पतालमा दाँतको उपचार गरेको पत्र बुझाइसकेका छन् । खुट्टाको उपचार गराएको पत्र बुझाउने प्रक्रियामा छन् ।

पठाओका क्षेत्रीय निर्देशक असीममान सिंह बस्न्यात पनि आफ्नो प्लेटफर्म प्रयोग गरेर सेवा लिँदा दुर्घटना भए कम्पनीले बिमा गर्ने नीति नेपालमा नभएकाले बाइक चालककै तेस्रो पक्ष बिमाबाट क्षतिपूर्ति दाबी गर्ने अभ्यास रहेको बताउँछन् । ‘हामीले बिमा गर्ने नीति नेपालमा छैन,’ उनी भन्छन्, ‘हाम्रो प्लेटफर्ममा कुनै चालक आबद्ध हुँदा मोटरसाइकलको तेस्रो पक्ष बिमा भएको र ब्लुबुक नवीकरण गरेको भए मात्रै स्वीकार गर्छौं ।’ आफ्नो प्लेटफर्ममा आबद्ध सबै मोटरसाइकल र कारको तेस्रो पक्ष बिमा भएको सुनिश्चितता हुने भएकाले दुर्घटना हुँदा बिमा दाबी गर्न कुनै समस्या नहुने उनको भनाइ छ ।

‘दुर्घटना भएको घटना हाम्रो जानकारीमा आउँदा हामी बिमा भुक्तानीका लागि सहजीकरण पनि गर्ने गर्छौं,’ उनी भन्छन्, ‘प्रहरीकहाँ उजुरी परेको भए चालकको विवरण प्रहरीलाई उपलब्ध पनि गराउँछौं ।’ पठाओजस्तै राइड सेयरिङ सेवा दिने कम्पनी टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्ट राइड सेयरिङ सेवा दिने एपको काम माध्यम बन्ने मात्रै भएकाले दुर्घटनामा दोषी बनाउन नमिल्ने बताउँछन् । ‘फेसबुक प्रयोग गरी कसैलाई गाली गरे फेसबुकलाई दोष दिन मिल्दैन,’ उनको तर्क छ, ‘त्यस्तै राइड सेयरिङका लागि माध्यम बनेका कम्पनीलाई दुर्घटनाको दोषी बनाउन मिल्दैन ।’ राइड सेयरिङ सेवाका लागि माध्यम बनिदिने यस्ता एप कानुनी रूपमा जिम्मेवार नभए पनि नैतिक रूपमा उत्तरदायी बन्नुपर्ने उनको भनाइ छ । यस्तो सेवा प्रयोग गर्दा हुने दुर्घटनाका लागि बिमा गर्ने नीति बनाउन बिमा कम्पनीको भूमिका हुनुपर्ने उनको तर्क छ । ‘बिमा कम्पनीले यस्तो क्षेत्रका लागि दुर्घटना बिमा गर्ने नीति ल्याए हामीलाई सहज हुन्छ,’ उनी भन्छन्, ‘यस्तो नीति बनाउन सरकारले पनि सहजीकरण गर्न सक्छ ।’

(कान्तिपुर दैनिक)

धेरै पढिएको