News Desk
काठमाडौँ — कार्तिक २०, २०७७।
पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन बिहीबार कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले दिउँसो १ बजेका लागि आफ्नै निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
अनौपचारिक बैठकमा गत सोमबारको बैठकमा भएको छलफलले निरन्तरता पाउने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ‘मुख्यतः पार्टीभित्रको विवादका विषयमा छलफल हुन्छ, सभापतिज्यूले सकेसम्म सबैलाई सम्बोधन गर्ने भन्नुभएको छ, त्यसबाहेक केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाका विषयमा छलफल हुन्छ,’ सहमहामन्त्री डा. महतले भने ।
यसअघि मंगलबार बस्ने भनिएको बैठक आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधनको शोकमा स्थगित भएको थियो ।
पार्टी सभापति देउवाले पार्टी समायोजन, क्रियाशील सदस्यता वितरण, विभाग गठनलगायतमा विधान मिचेर कार्य गरेकोलगायत असन्तुष्टि राखेर वरिष्ठ नेता पौडेल समूहले १६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । केन्द्रीय समिति बैठकअगावै १६ बुँदेमा सहमति गरेर केन्द्रीय समिति बैठकमा जानुपर्ने पौडेल समूहको माग छ ।
महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न कांग्रेसले शुक्रबारदेखि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
चारवर्षे कार्यकाल पूरा भएर महाधिवेशनको मिति घोषणा भइसकेपछि सभापति देउवाले मनलाग्दी ढंगबाट पार्टीमा विभाग गठन गरेको, जथाभावी क्रियाशील सदस्यता वितरण गरेको र भ्रातृ संस्थाको पदाधिकारी नियुक्तिलगायत विषयलाई लिएर कांग्रेसभित्र विवाद हुँदै आएको छ ।
(नयाँ पत्रिका)