News Desk
काठमाडौँ — कार्तिक २०, २०७७।
सार्वजनिक मञ्चहरुमा एक अर्काको आरोप प्रत्यारोपमा उत्रेका सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको भेट पनि एकअर्कामा आरोप लगाउनमै केन्द्रीत बनेको छ ।
आज प्रधानमन्त्री निवास वालुवाटारमा एक घण्टा भएको छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एक अर्कामा गुटको भेला चलाउन सक्रिय भएको भन्दै आरोपमा नै उत्रेको स्रोतले जनाएको छ ।
भेटमा दाहालले अर्का अध्यक्ष ओलीसँग पार्टी भित्र कसले राजिनामा मागेको छ र ? बाहिर बाहिर राजिनामा दिन्न भनेर भन्नु भएको ? भन्दै प्रश्न गरेका थिए ।
साथै दाहालले मदन भण्डारी फाउण्डेसनको नाममा गुटको भेला बोलाएको भन्दै अध्यक्ष ओलीसँग भनाई राखेका थिए ।
त्यसको जवाफमा ओलीले आफुले गुटको भेला गरेको नभई दाहाललाई नै गुटको भेला चलाएको बताएको स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीले अध्यक्ष दाहाललाई बाहिर बारिह अनेकखाले भेला बोलाएर गुट चलाएको बताएका थिए ।
आजको छलफल दुई अध्यक्षबीच तिक्ततापूर्ण रहेको स्रोतले जनाएको छ ।
आजको भेटमा कुनै पनि सहमति भएको छैन् ।
अध्यक्ष ओलीले दाहाललाई तपाईहरु षडयन्त्रमा लाग्नु भएको छ, म त्यसको सामना गर्छु भन्ने शैलीमा देखिएको वालुवाटार स्रोतले जनाएको छ ।
छलफलमा दाहालले पार्टीको सचिवालय बैठक बोलाउने र सबै कुरा त्यही छलफल गर्न भनेका थिए । तर यसबारेमा कुनै पनि सहमति हुन सकेको छैन् ।
(नयाँ पत्रिका)