News Desk
दिलेनले मारे फड्को
नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल्ने छ । त्यसमा दिलेन पहिलो क्यापको प्रतीक्षामा हुनेछन् । उनी जावलाखेलबाट लामो समयदेखिको राष्ट्रिय टोलीको बन्द ढोका खोल्न सफल भए ।
काठमाडौँ — कार्तिक २१, २०७७।
पटक–पटक राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक सूचीमा डाकिए पनि राष्ट्रको प्रतिनिधित्व गर्न नपाउने धेरै खेलाडी छन् । दिलेन लोक्तामलाई पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षणमा डाक्दा सम्भवतः यस्तै लागेको थियो होला, बन्द प्रशिक्षण त हो राष्ट्रिय टोलीमा पर्न सजिलो छैन ।
बंगलादेशसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल्न जाने सूचीमा प्रभु जावलाखेल युथ क्लबका रक्षक दिलेन पनि समावेश गरिएको थियो । पहिलो पटक बन्द प्रशिक्षणमा परेका ३१ वर्षे उनी सोझै राष्ट्रिय टोलीमा परेका हुन् । हुन त उनलाई भाग्यले राम्रो साथ दियो । सात खेलाडीलाई कोभिड–१९ को संक्रमण देखिनु र रोहित चन्दले चोटका कारण बंगलादेश जाने टोलीबाट आफ्नो नाम फिर्ता लिएपछि दिलेनलाई चिठ्ठा परेको थियो ।
नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल्ने छ । त्यसमा दिलेन पहिलो क्यापको प्रतीक्षामा हुनेछन् । उनैले जावलाखेलबाट लामो समयदेखिको राष्ट्रिय टोलीको बन्द ढोका खोल्न सफल भए । जावलाखेलका पूर्व गोलरक्षक प्रदीप तण्डुकारले राष्ट्रिय टोलीमा परेकामा दिलेनलाई सामाजिक सञ्जालमाार्फत बधाई दिएका छन् । रक्षापंक्तिको जुनसुकै पोजिसनमा पनि खेल्न सक्नु उनको खुबी हो । जावलाखेललाई गत वर्षको सहिद स्मारक लिगमा छैटौं स्थानसम्म पुर्याउन उनको ठूलो योगदान रह्यो । जावलाखेलले उनकै कप्तानीमा वाग्मती कप पनि जितेको थियो । अन्य घरेलु प्रतियोगितामा खेल्दा उनी झापा–११ को नेतृत्व गर्छन् ।
जावलाखेलका प्रशिक्षक किशोर केसी उनलाई प्रतिभाशाली खेलाडी मान्छन् । ‘उनीसँग धेरै विशेषता छ, त्यसको मैले राम्रोसँग प्रयोग गरेको थिएँ । लिगमा महत्त्वपूर्ण खेलहरूमा जित्न र बराबरी गराउन उनको ठूलो योगदान रह्यो । उनलाई मैले एट्याकिङ डिफेन्समा खेलाएको थिएँ, जसले विपक्षीको मुख्य खेलाडीलाई निगरानी गर्नुेपर्ने थियो । त्यो भूमिका उनले राम्रोसँग निभाए । उनी मिहिनेती र इमान्दार पनि छन्,’ केसीले दिलेनबारे सुनाए ।
प्रशिक्षक केसीले नजरमा स्तरीय खेलाडी दिलेनले बंगलादेशमा प्लेइङमै खेले पनि आफू आश्चर्य नमान्ने बताउँछन् । ४० को दशकमा भक्तराज राजकर्णिकार नेपाली राष्ट्रिय टोलीमा रक्षापंक्तिको खम्बा थिए । त्यसयता जावलाखेलबाट सिधै राष्ट्रिय टोलीमा कुनै खेलाडी परेको केसीलाई याद छैन । त्यसको मतलब तीन दशकपछि जावलाखेलका कुनै खेलाडी सिधै राष्ट्रिय टोलीमा परेका हुन् । यसअघि जावलाखेलका खेलाडीको रूपमा मेघराज केसी, सानुभाइ थापा, तिलक गुरुङलगायतका खेलाडी बन्द प्रशिक्षणका लागि नडाकिएका होइनन् । तर कहिल्यै राष्ट्रिय टोलीमा परेनन् ।
लामो समय जावलाखेलबाट खेलेका उज्ज्वल मानन्धर सन् २००३ मा एसियन कप छनोट खेल्न दक्षिण कोरिया जाँदा उनी संकटा क्लबमा पुगिसकेका थिए । २००५ मा विकास मल्ल र अञ्जन केसी पाकिस्तानमा साफ च्याम्पियनसिप खेल्न छनोट भएका थिए । त्यसको सात महिनाअघि नै दुवै जावलाखेल छाडेर क्रमशः मनाङ मर्स्याङ्दी र थ्रीस्टार लागिसकेका थिए ।
विक्रम लामा र विशाल राईले पनि जावलाखेलको जर्सी लगाए । उनीहरू पनि राष्ट्रिय टोलीको पहिलो कल आउँदा अर्को क्लब पुगिसकेका थिए । जावलाखेलकै उत्पादन विक्रम थ्रीस्टार लागेको पनि १४ वर्ष भइसकेको छ । अहिले पनि उनी राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ जावलाखेलका पूर्वकप्तान हुन् ।
वैशाखयता कोभिड–१९ को महामारीका कारण फुटबल गतिविधि शून्य भएपछि दिलेन र जावलाखेलबीचको करार सम्झौता सकिए पनि घरेलु फुटबल सुरु भएपछि उनी आफ्नो टोलीको प्रमुख खेलाडीमा रहने जावलाखेलका महासचिव पवन गिरी बताउँछन् । विगतमा सरस्वती क्लब, मछिन्द्र क्लब, ब्रिगेड ब्वाइज हुँदै गत सिजन उनी जावलाखेल आएका थिए ।
दिलेनले २०६८ को लिग मछिन्द्रबाट खेलेका थिए । मछिन्द्रका प्रशिक्षक थिए योहान कालिन । जो अहिले नेपाली टोलीका प्रशिक्षक छन् । कोभिडका कारण स्विडेनमा अड्किएकाले कालिनको स्थानमा बालगोपाल महर्जनले टोलीको प्रशिक्षण जिम्मा लिएका छन् । कालिन मछिन्द्रमा हुँदादेखि नै दिलेनको खेलबाट प्रभावित थिए ।
‘जुनसुकै पोजिसनमा खेल्नुका अलावा उनले डिस्ट्रविङ गेम खेल्छन् । मिहिनेती छन्, उनको खुट्टा दुवै उत्तिकै चल्छ,’ जावलाखेलका पूर्व कप्तान जग्गुनाथ खड्काले भने, ‘सहिद स्मारक लिगमा जावलाखेलले ठूलो मानिएको टोलीविरुद्ध अंक खोस्दा उनले जुझारु प्रदर्शन गरेका थिए । त्यसपछि उनको खेलले अझ चर्चा पाएको थियो ।’
(कान्तिपुर दैनिक)