धार्चेमा ‘एड्भेन्चर ट्रेल’
News Desk
Nov-06 , 2020 तारिख 02:16 बेलुका

गोरखा — कार्तिक २१, २०७७। 

भूकम्पबाट प्रभावित धार्चे गाउँपालिकामा पर्यटकलाई आकर्षित गर्न ‘एड्भेन्चर ट्रेल’ (साहसिक मार्ग) निर्माण गरिएको छ । पदयात्री तथा साइकल यात्रीलाई लक्ष्य गरी १६.२ किलोमिटर मार्ग निर्माण गरिएको हो । 

लाप्राकमा रहेको गुप्सीपाखाबाट यमगाउँसम्म निर्मित उक्त मार्ग शनिबारदेखि खुला गरिएको छ । सडकमार्गले नछोएको पुरानो पैदलमार्गलाई समेटेर एड्भेन्चर ट्रेल निर्माण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘प्राकृतिक मनोरम दृश्यावलोकन गर्दै यात्रा गर्ने पदयात्रीलाई लक्ष्य गरी ट्रेल निर्माण भएको छ,’ उनले भने । उक्त मार्गलाई बारपाकसम्म जोड्ने लक्ष्य रहेको उनले सुनाए । ‘साइकलबाट पनि धार्चे भ्रमण गर्न सकिन्छ भन्ने सन्देश दिन एड्भेन्चर ट्रेल बनाएका हौं,’ उनले भने, ‘पर्यटनबाट आर्थिक विकासको सम्भावना प्रशस्त छ, साइकलयात्रीको पनि गन्तव्य बनाउन सके यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्छ भन्ने विश्वास छ, ।’ २०७२ वैशाख १२ को भूकम्प अध्ययन तथा अवशेष अवलोकनका लागि पनि उक्त क्षेत्रमा पर्यटक आउने स्थानीयको विश्वास छ ।

लाप्राकस्थित गुप्सीपाखामा निर्मित गरिएको एकीकृत बस्ती हेर्न आउने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । उक्त मार्गबाट यात्रा गर्ने पद तथा साइकलयात्रीले बौद्ध, हिमालचुली, गणेश, शृंगीलगायत हिमालको दृश्यावलोकन गर्दै यात्रा गर्न सक्नेछन् । ‘डाँडा–डाँडाबाट बनेको पदमार्गमा यसै पनि पर्यटक भुल्न सक्छन्,’ उनले भने । गुराँसलगायत प्राकृतिक वनस्पति पाइने क्षेत्र भएकाले पनि उक्त क्षेत्र पर्यटकीय हिसाबले विकास गर्न लागिएको हो । ‘पैदल हिँड्न रुचाउनेलाई पदमार्ग भइहाल्यो, सडकमार्ग भएर चुङकङलगायतका डाडाँमा पुगेर दृश्यावलोकन गर्छु भन्ने पर्यटक पनि यहाँ आउन सक्छन्,’ उनले भने । साइकलबाट यात्रा गर्नेका लागि अब उक्त मार्ग खुला भएको उनले बताए ।

एड्भेन्चर ट्रेल भएर शनिबार पाँच जना अनुभवी साइकलयात्रीले परीक्षण यात्रा गरे । गुप्सीपाखाबाट यमगाउँ, चुङकङडाँडा हुँदै माछाखोलासम्मको गोरेटो बाटोमा साइकलयात्री पुगेपछि स्थानीय पनि उत्साहित देखिन्थे । माउन्टेन साइक्लिङ यात्राका लागि उक्त मार्ग उपयुक्त रहेको पोखराबाट आएका साइकलयात्री लक्ष्मण सुनारले बताए । ‘सम्भावना बोकेको ठाउँ रहेछ, पर्यटक यो ठाउँमा घुम्न पाए खुसी हुन्छन्,’ उनले भने, ‘साइकलबाट यात्रासँगै ट्रेल निरीक्षण पनि गर्‍यौं, ट्रेल र साइकल यात्राको सम्भावनाबारे अध्ययन गरेका हौं, मनरोम दृश्य हेर्दै साइक्लिङ गर्दा यो ट्रेलमा छुट्टै आनन्द छ ।’ उक्त मार्गमा १ हजार ९ सय मिटर उचाइको गुप्सीपाखाबाट सुरु हुने साइकल यात्रा ८ सय मिटरमा गएर टुंगिने उनले बताए । ‘करिब दुई घण्टामा साइकलबाट यात्रा पूरा गर्न सकिन्छ,’ उनले भने, ‘आधारभूत ज्ञान भएकालाई यो गोरेटो बाटो भएर एड्भेन्चर साइक्लिङ गर्न निकै उपयुक्त छ ।’ एड्भेन्चर ट्रेललाई अन्य गाउँसम्म विस्तार गर्ने सम्भावना पनि रहेको सुनारको भनाइ छ ।

पर्यटकलाई आकर्षित गर्न साइक्लिङ ट्रेल विकास गरेपछि स्थानीय पनि उत्साहित छन् । ‘पूर्वाधारको विकास र प्रचारमा जोड दिए पर्यटक नआउने कुरै छैन,’ गुम्दाकी माइली गुरुङले भनिन्, ‘पर्यटक आउने क्रम बढे हामीले उत्पादन गरेको कृषिजन्य सामग्री बिक्रीमा पनि सजिलो हुन्छ ।’ गाउँ पुगेका आगन्तुकलाई अर्ग्यानिक खानेकुरा खुवाउने गरेको पनि उनले सुनाइन् । प्राकृतिक र सांस्कृतिक प्रवर्द्धनमार्फत पर्यटन विकास गर्ने उद्देश्यले निर्मित उक्त मार्ग निर्माण गर्न ३० लाख रुपैयाँ खर्च भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार एड्भेन्चर ट्रेलको उद्घाटन गरे । ‘भौगोलिक रूपमा विकट भए पनि धार्चेमा पर्यटनको प्रचुर सम्भावना छ,’ उनले भने, ‘यहाँको पर्यटकीय पूर्वाधार विकासमा निरन्तर जोड दिन्छौं ।’

(कान्तिपुर दैनिक)

धेरै पढिएको