News Desk
काठमाडौं — कार्तिक २३, २०७७।
गतवर्ष माघदेखि बन्द चिनियाँ नाकाहरू अझैसम्म राम्ररी सञ्चालनमा आउन सकेका छैनन् । । कोरोनाका कारण सीमा खुलेपछि चिनियाँ पक्षले नै सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनरसम्म सामान ल्याइदिने गरे पनि नेपाली कन्टेनरहरू सीमापारि जान पाएका छैनन् ।
चीनले कोरोना भाइरसको संक्रमण शुरू भएपछि गतवर्ष माघदेखि नेपालका उत्तरी सीमाहरू बन्द गरेको थियो । सरकारले उत्तरी नाका खुलाउन पहल गरेपछि असारपछि दैनिक पाँचओटा कन्टेनरसम्म नेपाल आउने गरी खुल्न थालेका थिए । असोजमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा चीनसँग वार्ता गरी सीमा खुला गरेपछि चीनले धेरै कन्टेनर नेपाल आउन दिए पनि कात्तिकपछि पुनः उत्तरी नाकाहरू बन्दप्रायः भएका छन् । व्यापारीहरूका अनुसार हाल चीनबाट मुश्किलले पाँचओटासम्म कन्टेनर सामानहरू सीमावारि आइरहेका छन् ।
माघ अघिसम्म नेपाली व्यापारीहरूले आफ्नै कन्टेनर चीनमा लगेर सामान लोड गरेर ल्याउने गर्थे । नेपाली कन्टेनरहरू चीन पारि गएर सामान ल्याउँदा ७० देखि ८० लाख भाडा पर्ने गथ्र्यो तर कोभिडका कारण चीनले नेपाली कन्टेनर आफ्नो देशमा भित्रिन दिएको छैन । नेपाली कन्टेनरको ढुवानी रोकेर चीनले नै सीमा वारिसम्म आफ्ना कन्टेनरबाट सामान ढुवानी गर्ने निर्णय गरेपछि चीनतर्फको ढुवानी भाडा ह्वात्तै बढेको छ ।
व्यापारीहरूका अनुसार हाल एक कन्टेनर मात्र सामान आयात गर्नुपर्दा १२ लाखसम्म ढुवानी भाडा तिर्नु परेको छ । ‘चिनियाँ कन्टेनरले नै सीमावारिसम्म सामान छाडिदिन्छन्, अहिले नेपाली कन्टेनर पारि जान पाउँदैनन्,’ नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले भने, ‘पहिले ८० हजारमा हुने ढुवानी खर्च बढेर १२र१३ लाख पुगेको छ ।’
संघका अनुसार विगत ११ महीनादेखि चीनमै रोकिएका नेपाली सामान विस्तारै नेपाल आउन थाले पनि अझै २२ सय कन्टेनरभन्दा बढी सामान सीमापारि छ । कति व्यापारीले उत्तरतिरै सामान फिर्ता गरिसकेकोमा कतिले सामान फिर्ता नहुँदा ११ महीनादेखि सामान कुरेर बसेको संघका अध्यक्ष पौडेलले बताए । ‘सामान सडेको गलेको बिग्रिएको कस्तो अवस्थामा छन् थाहा छैन, ढुवानी खर्च पनि १७ गुणासम्म बढेको छ,’ उनले भने ।
सरकारले सीमा सहज बनाउने आश्वासन दिए पनि अहिलेसम्म नतीजा नआएको उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।