News Desk
काठमाडौँ — कार्तिक २४, २०७७।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाललाई पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने आश्वासन दिएका छन्।
नेपाल पक्षीय नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघु पन्तसहित नेता नेपालसँग आइतबार बालुवाटारमा सामूहिक छलफल गर्दै ओलीले आउँदो एकता महाधिवेशनमा पार्टी अध्यक्षमा आफ्नो समर्थन र सहयोग रहने आश्वासन दिएका हुन्। ‘आउँदो महाधिवेशनपछि तपाईं (नेपाल) नै अध्यक्ष हुने हो।
त्यसमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ। प्रधानमन्त्री बन्ने हो भने आउँदो चुनावसम्म कुर्नुपर्छ तर अबको नेतृत्व भनेको चाहिँ तपाईं नै हो’, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने।
नेता नेपालले भने ओलीको आश्वासन विश्वासिलो नभएको भन्दै तत्कालको समस्या समाधानका लागि केन्द्रित हुन आग्रह गरेका थिए। ‘तपाईंको यो आश्वासनको कुनै अर्थ छैन, तपाईंको बोलीमा विश्वास गर्ने कुनै आधार छैन।
तपाईं भन्नुहुन्छ एउटा र गर्नुहुन्छ अर्को। त्यसकारण यस्तो आश्वासन दिएर फकाउने काम नगर्नुस् बरु अहिलेको समस्या समाधान गर्ने ठोस प्रस्ताव ल्याउनुस्’, स्रोतले नेपालको जबाफ उद्धृत ग¥यो। नेपाल समूहले पार्टीको बैठक बोलाएर समस्या समाधान गर्न सुझाव दिएको थियो।
ओलीले पटकपटक मिलेर जान आग्रह गरेपछि नेपालले त्यसका आधार केके छन् भनी प्रश्न गरेका थिए। ‘तपाईंले अहिलेसम्म मिल्ने आधार कसरी तयार गर्नुभएको छ? तत्कालीन महाधिवेशनमा मलाई वा मेरो समूहलाई समर्थन गरेको वा त्यतातिर ढल्केको आधारमा कतिपय नेता अहिले पनि जिम्मेवारविहीन छन्। अहिले आएर मिलेर जाऊँ भन्नुहुन्छ तर पार्टीभित्र प्रतिशोध लिनुहुन्छ। यसरी मिलौं भन्नुको कुनै अर्थ छैन।
पार्टी एकता बलियो बनाउने गरी ठोस प्रस्ताव तयार गर्नुस्’, स्रोतले नेपालको भनाइ उद्धृत ग(यो, ‘मैले तपाईंलाई प्रधानमन्त्रीबाट हट्नुपर्छ भनेको छैन, पार्टीको अध्यक्षबाट हट्नुपर्छ पनि भनेको छैन तर पनि तपाईंले सधैं प्रतिशोधको भावना मात्रै राख्ने हो भने मिलेर जाने प्रस्ताव मैले कसरी स्वीकार गर्नु? बिनाकार्ययोजना छलफलमा बस्नुको के अर्थ ?’
पार्टी अध्यक्ष बन्न सहयोग गर्ने आश्वासनमा विश्वास गर्न नसकिने जनाउ दिँदै नेपाल पक्षले सामूहिक नेतृत्वको प्रस्ताव गरेको थियो। तर ओली यो प्रस्तावमा मौन रहेको आजको नागरिक दैनिकमा खवर छ ।