News Desk
काठमाडौं — कार्तिक २६, २०७७।
रू ६ अर्बभन्दा माथिका आयोजनाहरूको लगानी स्वीकृत गर्ने लगानी बोर्ड नेपालले पछिल्लो ४ महीनाकै अन्तरालमा विभिन्न आयोजनामा गरी रू २ खर्ब ४२ अर्ब करोड लगानी स्वीकृत गरेको छ ।
असार पहिलो साता रू १ खर्ब ८५ अर्ब लगानी स्वीकृत गरेको बोर्डले सोमवार मात्रै रू ३८ अर्ब ६८ करोड लगानी स्वीकृत गरेको छ । यो जलविद्युत् क्षेत्रमा थपिएको लगानी हो । बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार बसेको बोर्डको ४५ औं बैठकले घुन्सेखोला जलविद्युत् परियोजनाको रू १७ अर्ब ६२ करोड ४० लाख, हिमचुली दोर्दी जलविद्युत्को रू १० अर्ब ६१ करोड ९१ लाख र दूधखोला जलविद्युत् परियोजनाको रू १० अर्ब ४३ करोड ६० लाख स्वीकृत गरेको हो ।
जलविद्युत्का यी आयोजनामध्ये घुन्सेखोला ७७ दशमलव ५ मेगावाट (मेवा), हिमचुली ५७ मेवा र दुधखोला जलविद्युत्को क्षमता भने ६५ मेवा रहेको छ । यी परियोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बन्नेछन् । यसैगरी असारमा बोर्डले जलविद्युत्कै पाँचओटा र सिमेन्टका दुई गरी सातओटा ठूला लगानीका आयोजनाको लगानी स्वीकृत गरेको थियो । ४ महीनाअघि स्वीकृत गरिएका जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमता ६८८ दशमलव ४ मेवा रहेको .आजको आर्थिक अभियान दैनिकमा खवर छ ।