कुइनेमा पुल निर्माण तीव्रः कर्णाली र सुदूरपश्चिम छोटो दूरीको सडकले जोडिँदै
News Desk
Nov-12 , 2020 तारिख 04:37 बेलुका

काठमाडौं — कार्तिक २६, २०७७।

पश्चिम सुर्खेत र कैलालीबीच छिट्टै सीधा यातायात सञ्जाल विकास हुने भएको छ । सुर्खेतको कुइनेस्थित कर्णाली नदीमा पुल निर्माणपछि कर्णाली प्रदेश सुदूरपश्चिमसँग छोटो दूरीको सडकले जोडिने भएको हो ।

साविक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले पैदल यात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक बनिसकेको छ । कर्णालीमा पुल नभएकाले दुई प्रदेशको यातायात सम्बन्ध हुन नसकेकोमा अब भने यो अवस्था अन्त्य हुँदै छ । सुर्खेत र कैलालीको कुइनेमा कर्णाली नदीको पुल निर्माणपछि उक्त बाटो पूर्व–पश्चिम राजमार्गको चिसापानीसम्म जोडिनेछ ।

पुल निर्माणले सुर्खेतको बड्डीचौर हुँदै कोहलपुर–चिसापानीसम्मको करीब २०० किलोमिटर सडक ५२ किलोमिटरमा छोटिनेछ । छोटो दूरीको यातायातबाट साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कुइनेस्थित कर्णाली नदीमा अनत÷लुम्बिनी जेभीले पुल निर्माण गरिरहेको छ । पुल निर्माणका लागि २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । सडक विभागले २ वर्षसम्म डिजाइन स्वीकृत नगरेकाले निर्माण ढिलो शुरू भएको निर्माण कम्पनीले बताएको छ । कम्पनीका साइट इन्चार्ज दिनेशकुमार श्रेष्ठले २०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माण थालिएको जानकारी दिए । ‘नदीले वर्षेनि धार परिवर्तन गरेकाले डिजाइन स्वीकृत गर्न ढिला भएको हुन सक्छ,’ श्रेष्ठले भने, ‘भौगोलिक अवस्थितिका कारण पनि केही ढिला भएको हो ।’

यसै वर्ष पुल सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र पारिएको कम्पनीले बताएको छ । चौकुने गाउँपालिका–७ का समाजसेवी काशीराम देवकोटाले ढिलै भए पनि पुल निर्माणले कर्णाली प्रदेशलाई छिमेकी मुलुक भारतसँगको छोटो दूरीमा पर्ने नाकासम्म जोड्ने बताए । आर्थिक आजको अभियान दैनिकमा खबर छ। 

Related Post