News Desk
काठमाडौं — कार्तिक २६, २०७७।
प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण गरिएको छ । प्रधानमन्त्रीको यात्राका क्रममा सडकमा हुने ट्राफिक जाम कम गर्न र समय बचतका लागि बालुवाटारमै हेलिप्याड निर्माण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
सल्लाहकार थापाले नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको बताएका छन् ।
भर्खरै निर्माण सम्पन्न भएको हेलिप्याड सञ्चालनमा समेत आएको छ । बुधबार संखुवासभा जाने क्रममै प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाटै सेनाको हेलिकप्टरमा गएका थिए । संखुवासभाबाट फर्कँदा पनि उक्त हेलिकप्टर बालुवाटारमै अवतरण गरिएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले बालुवाटारमा हेलिप्याड निर्माण भएपछि सर्वसाधारणले सास्ती खेप्नुनपर्ने उल्लेख गर्दै फेसबुकमा लेखेका छन्, ' अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन ।'
(कान्तिपुर दैनिक)