News Desk
काठमाडौँ — कार्तिक २९, २०७७।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र दाहालबीच ‘पत्रयुद्ध’ शुरु भएको छ। कात्तिक २२ मा दाहालसहित पाँच नेताले पार्टीको सचिवालय बैठक राख्न अनुरोध गर्दै लेखेको पत्रको जवाफमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आँट गर्न आग्रह गरेका छन्। त्यसको जवाफ फर्काउँदै दाहालले आर्दश र चिल्ला कुरामात्रै भएको जनाएका छन्।
ओलीले नयाँ पुस्तामा रहेका नेतालाई नेतृत्व दिने विषयमा यसअघि पनि कुरा उठाउँदै आएको भए पनि दाहाललाई लेखेको जवाफी पत्रमा आँट गरौं अब आउने औपचारिक फोरमबाट नयाँलाई जिम्मेवारी सुम्पेर पार्टी आन्दोलन, देश र जनातलाई गुन लगाऔं भनेका छन्। ‘क्रियाशील क्षमतावान् नयाँ पुस्ताले म त्यो पदमा पुगेर जिम्मेवारी सम्हाल्छु भन्ने मौका नपाउने भन्दै बूढाहरुको लडाइँमा मिलिदिनुस् भनेर कति दिन बस्ने’ भन्ने प्रश्नसमेत ओलीले गरेका छन्।
त्यसको जवाफमा दाहालले लेखेका छन्, ‘तपाईंले नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुरा पत्रमा लेख्नुभएको छ तर व्यवहारमा भने कसैले आफूलाई पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी समिति वा केन्द्रीय समितिको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुला रुपमा गरिरहनुभएको छ। विघटन भइसकेको पार्टीको महाधिवेशनले छानेको अध्यक्ष हुनाले मलाई कसैले हटाउन सक्दैन भन्ने अनौठो तर्क गर्नुहुन्छ।’
ओलीले भने दाहाललाई पार्टीमा कचपच, सहमति र फेरि कचपचको शृंखला कहिलेसम्म भनेर प्रश्न गरेका छन्। ‘यो तमासाबाट अझै आजित हुनुभएको छैन’, ओलीले दाहाललाई प्रश्न गरेका छन्। दाहालले बेलाबेलामा ‘मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि’ भन्ने गरेको उल्लेख गर्दै ओलीले के कसरी र के भन्दा फकिनुहुन्छ भनेर प्रश्न गरेका छन्। मुलुकको समृद्धि, जनताको खुसहाली र पार्टीलाई थप समृद्ध बनाउन दाहाललाई फकाउन आफू तयार रहेको भन्दै उनले उल्लेख गरेका छन्, ‘ल मैले फेरि फकाएँ।
आउनुस्, गुटबन्दी र दाउपेच छाडौं, पार्टीलाई एकजुट बनाऔं।’ त्यसको जवाफमा दाहालले आवेगमा आएर पार्टी एकता, संविधान र परिवर्तनको प्रक्रियालाई अवरुद्ध गर्ने कुनै काम तपाईंबाट हुनेछैन भन्ने आशा र विश्वास व्यक्त गर्दछु भन्दै नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ उचाइतिर लैजानु छ भनेका छन्। उनले लेखेका छन्, ‘एकता–संघर्ष–रुपान्तरण र नयाँ आधारमा नयाँ एकताका लागि कमरेडले थोरै मात्र आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनुभयो भने त्यो ठूलो कुरा हुनेछ। मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ। यति भएमा तपाईंले पत्रको अन्तिममा भने झैं म सजिलै फकिनेछु।’ दुवै नेताले एकले अर्कालाई आरोप लगाउँदै पत्राचार गरेको आजको नागरिक दैनिकमा खवर छ ।