प्रधानमन्त्री ओली ओलाङचुङगोलातर्फ
News Desk
Nov-23 , 2020 तारिख 09:23 बिहान

ताप्लेजुङ — मंसिर ८, २०७७। 

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका छन् । उनी सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी जाने कार्यक्रम छ ।

प्रधानमन्त्रीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए । फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गरिँदै छ ।

प्रधानमन्त्रीले घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम रहेको फाउन्डेसनकी अध्यक्ष याङजुम शेर्पाले जानकारी दिइन् । ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राई आउने कार्यक्रम रहेको प्रजिअ चापागाईंले जानकारी दिए । सदरमुकाम फुङलिङबाट तीन दिन पैदल दूरीमा पर्ने घुन्सामा प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्तालगायतको टोली पुगिसकेको छ ।

प्रधानमन्त्री यो क्षेत्रमा मंसिर ५ गते नै आउने कार्यक्रम थियो । पार्टीको आन्तरिक विवादका कारण उक्त कार्यक्रम मंसिर २ गते स्थगित भयो । आजको कार्यक्रम मंसिर ५ गते तय गरिएको हो । १० बजे घुन्सा पुग्ने प्रधानमन्त्रीले खाना पनि घुन्सामै खाने कार्यक्रम छ । प्रजिअ चापागाईंका अनुसार दुई घण्टा यहाँ बसेर प्रधानमन्त्री ओली इलामको जौबारी जानेछन् । उनी यसअघि कात्तिक २५ गते संखुवासभाको किमाथांकालगायत सीमावर्ती क्षेत्र गएका थिए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको