हराएकी ६ वर्षीया बालिका मृत फेला
News Desk
Nov-24 , 2020 तारिख 12:37 बेलुका

हत्याको आशंकामा एक जना पक्राउ

महोत्तरी —मंसिर ९, २०७७। 
 
महोत्तरीमा आइतबार साँझ हराएकी बालिकाको शव फेला परेको छ । बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।

घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागाईंले बताए ।

प्रहरीले शव परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागाईंले बताए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको