News Desk
काठमाडौँ — मंसिर १०, २०७७।
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् ।
सामारिक महत्वको नेपाली भूमि कालापानी क्षेत्रलाई छ दशकदेखि आफ्नो स्वामित्व दावी गर्दै आएको भारतले गत वर्ष नेपालको भूभागलाई समेटेर एकतर्फी रुपमा नयाँ नक्शा जारी गर्नाका साथै नेपालको भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर पुग्ने बाटो निर्माण र उद्घाटन नै गरेपछि नेपालले पनि आफ्नो राजनीतिक एवं प्रशासनिक नक्शा अद्यावधिक गरेको वास्तविकताप्रति दुवै देशका जनता अनभिज्ञ छैनन् ।
आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालले भारतसँगका सबै समस्या वार्ता, संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने मान्यतालाई अङ्गीकार गर्र्दै तदनुरुप नै हुनुपर्ने अभिमत सार्वजनिकरुपमा प्रकट गर्दै आएको छ । कोभिड–१९ तथा अन्य कारणले करीब एक वर्ष टुटेको नेपाल र भारतबीचको औपचारिक कूटनीतिक संवादलाई पाका कूटनीतिक व्यक्तित्व हर्षबर्धन शृङ्गलाको दुईदिने नेपाल भ्रमणले गतिशील तुल्याउने तथा शताब्दीआँै पुरानो द्विपक्षीय सम्बन्धलाई पुरानै लयमा फर्काउने विश्वास गरिएको छ ।
शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै यसलाई दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित गर्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिँदै आएका छन् । भारतीय पक्षले पनि पारस्परिक सहयोगलाई अझ सुदृढ तुल्याउँदै भारत–नेपाल सम्बन्ध अझ उन्नत होस् भन्ने चाहना सार्वजनिक रुपमा नै व्यक्त गरेको छ ।
बिहीबार परराष्ट्र सचिव भरतराज पौड्यालसँग एक्लाएक्लै अनि दुवै देशका सचिवबीच हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनेछ ।