News Desk
काठमाडौँ — मंसिर १०, २०७७।
राष्ट्रपति विद्यादेवी भण्डारीले जघन्य हिंसा निर्मूूल गर्ने सरकारको प्रयास पूर्ण रूपमा सफल बनाउन समाजका सबै पक्ष त्यत्तिकै सक्रिय हुनुपर्ने बताएकी छन्।
राष्ट्रपतिले महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार दिएको सन्देशमा यस्तो विचार व्यक्त गरेकी छन् । उनले घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य हिंसा निर्मूूल गर्न सबै सक्रिय हुर्नेमा जोड दिएकी हुन्।
संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम यस वर्ष नेपालले पनि ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारा तय गरेको छ ।
यस नारालाई सफल बनाउन बुधबारदेखि ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ सञ्चालन हुँदै छ । कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेको सन्दर्भमा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानता स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको राष्ट्रपतिको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।