News Desk
सिन्धुपाल्चोक— मंसिर १०, २०७७।
निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनामा आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्ले, चिनियाँ ठेकेदार र कन्सल्ट्यान्टको मिलेमतोमा करोडौं घोटाला भएको प्रमाण फेला परेको छ ।
स्थानीय समुदायलाई दोष थुपारेर आयोजनाको अवधि लम्ब्याउँदै आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्ले, कन्सल्ट्यान्ट दिनेश भण्डारी र चिनियाँ ठेकेदारका दोभाषे गोविन्द पौडेल करोडौंको आर्थिक चलखेलमा लागेको प्रमाण सार्वजनिक भएको छ ।
आर्थिक चलखेलमा लागेर आयोजनालाई असफल बनाउनमा कार्यकारी निर्देशक काफ्ले नै लागिपरेको आयोजनाका प्रमुख सुनिलकुमार लामाले बताए । ‘चिनियाँ दोभाषे गोविन्द पौडेलसँग करोडौंको ड्रिल भएको अडियो नै फेलापरेको छ, सुरुङको टेस्ट नै नगरी कन्सल्ट्यान्टले सिफारिस गरेको छ।’ –मंगलबार आयोजनास्थलमा स्थानीय सरकारका प्रतिनिधि र स्थानीयबासीसामु आयोजना प्रमुख सुनिलकुमार लामाले भने ।
दोभाषे गोविन्दमार्फत कन्सल्ट्यान्टका दिनेश भण्डारी र आयोजनाका कार्यकारी निर्देशकका बैंक खातामा रकम जम्मा गरी सुरुङको परीक्षण नै नगरी कन्सल्ट्यान्टले सिफारिस गरेको तर आयोजना प्रमुख सुनिलकुमार लामाले आर्थिक चलखेल पत्तो पाएपछि पास भने भएको छैन । ‘सुरुङ परीक्षण नै नगरी कन्सल्ट्यान्टले सिफारिस पठायो, मैले पास गर्न मानिनँ।’ –लामाले भने।
२०७४ सालमै सम्पन्न हुनुपर्ने मध्यभोटेकोसी आयोजनामा हालसम्म ६० प्रतिशत पनि काम सम्पन्न भएको छैन । आर्थिक चलखेलका कारण पटकपटक म्याद थप गर्दै पछिल्लोपटक पुनः म्याद थप्ने तयारी भइरहेपछि बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पासहित स्थानीय अगुवाहरु मध्यभोटेकोसी आयोजनामा भइरहेको चलखेलको भण्डाफोरमा उत्रेका आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ।