फेरि घट्यो सुनको भाउ, तोलाको ९१ हजार ५ सय रुपैयाँ
News Desk
Nov-25 , 2020 तारिख 02:12 बेलुका

काठमाडौँ — मंसिर १०, २०७७। 

नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । मंगलबार तोलामा १ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार एक हजार रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बुधबार भने ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कोरोना भाइरसविरुद्धको खोप परीक्षणमा सफलता हात परेका समाचार सार्वजनिक भएसँगै सुनको भाउ घटेको बताइएको छ ।

मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार १ सय ८० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार १ सय ७५ रुपैयाँमा झरेको छ ।

यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो । कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको