भारतीय विदेश सचिव श्रृंगला काठमाडौं आइपुगे
News Desk
Nov-26 , 2020 तारिख 10:25 बिहान

काठमाडौँ — मंसिर ११, २०७७। 

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । उनी केहीबेर चार्टड विमानबाट काठमाडौं ओर्लिएका हुन् ।

भारतीय विदेश सचिव श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आएका हुन् । उनको भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने भएको छ । विदेश सचिव बनेपछि श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनले आजै परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी उच्चस्तरीय भेटघाटमा सरिक हुने बताइएको छ ।

विदेश सचिवको भ्रमण अवसरमा बिहीबारै सचिवस्तरीय संयन्त्रको बैठकसमेत हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रामाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी हुने भएको छ ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार बिहीबार दिउँसो याक एन्ड यती होटलमा सुरु हुने भनिएको द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठकपछि विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि शिष्टाचार भेटवार्ता गर्दै छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको