नेप्से एकै दिन १२३ अंकले घट्यो
News Desk
Dec-07 , 2020 तारिख 10:45 बिहान

६ प्रतिशत घटेपछि ऋणात्मक सर्किट ब्रेकरमार्फत कारोबार बन्द
एकै दिन यति धेरै अंकले नेप्से घटेको यो पहिलो घटना

काठमाडौँ —  मंसिर २२, २०७७।

सेयर कारोबार मापक नेप्से परिसूचकमा आइतबार भारी गिरावट आएको छ । बजार खुलेदेखि नै ओरोलो लागेको नेप्से दिनभरमा १ सय २३.३४ अंक घटेको छ । एकै दिन यति धेरै अंकले नेप्से घटेको यो पहिलो घटना हो ।

यससँगै नेप्से १ हजार ९ सय ३२.११ विन्दुमा ओर्लिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबारको परिसूचक ६ प्रतिशत कम हो । २ बजेर १३ मिनेटमा परिसूचक ६ प्रतिशत घटेपछि नेप्सेले सर्किट ब्रेकरमार्फत उक्त दिनका सबै कारोबार बन्द गरेको थियो ।

अस्वाभाविक कारोबार नियन्त्रणका लागि सर्किट ब्रेकरको व्यवस्था गरिएको छ । जसमध्ये कारोबार सुरु भएको पहिलो घण्टामा नेप्सेमा ४ प्रतिशतको घटबढ भए २० मिनेट, दोस्रो घण्टामा ५ प्रतिशत घटबढ भए ४० मिनेट र त्यसपछि ६ प्रतिशत घटबढ भए सर्किट ब्रेकरमार्फत उक्त दिनको कारोबार बन्द गरिन्छ । लकडाउनपछि खुलेको बजारमा ऋणात्मक सर्किट ब्रेकरमार्फत बजार बन्द भएको यो पहिलोपटक हो ।

उक्त दिन करिब ६२ हजार कारोबारबाट १ सय ९७ कम्पनीका करिब १ करोड ५५ लाख कित्ता सेयर किनबेच भए । ती किनबेचबाट करिब ७ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । नेप्से घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि घटेर २५ खर्ब ८९ अर्ब रुपैयाँमा सीमित भएको छ ।

करिब सात कारोबार दिन लगातार उच्च अंकले बढेको नेप्से गत बिहीबार साढे १५ अंकले घटेको थियो । यसअघि यही मंसिर ८ मा नेप्से २.३८ अंक घटेको थियो । त्यसपछिका सबै कारोबार दिन बढेको नेप्सेमा बिहीबार भने दोहोरो अंकले करेक्सन भएको हो । मंसिर ८ अघि कात्तिक २० मा नेप्से ४.४७ अंक घटेको थियो ।

सेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक रूपमा नभई चलखेलका माध्यमबाट भएको नियामक निकाय धितोपत्र बोर्डको अध्ययन प्रतिवेदन बाहिरिएको थियो । जसमा उचित कारणबिनै धेरै कम्पनीका सेयर मूल्य बढेकाले बजारमा जोखिम रहेको उल्लेख छ । त्यसयताका कारोबारमा त्यसको असर पनि परेको जानकारहरू बताउँछन् । २०७७ असारको तुलनामा मंसिर ११ सम्म सूचीकृत कम्पनीको सेयर मूल्य अध्ययन गर्दा २७ कम्पनीको मूल्यमा शतप्रतिशतभन्दा बढी वृद्धि भएको, ५० प्रतिशतदेखि शतप्रतिशत मूल्यवृद्धि हुनेमा ३१ कम्पनी रहेको प्रतिवेदनमा औंल्याइएको छ । यी कम्पनीको मूल्यवृद्धिलाई उचित मान्न सक्ने कुनै कारण नदेखिएकाले त्यस्ता कम्पनीको बजार मूल्य सम्बन्धमा विस्तृत अध्ययन गर्न जरुरी रहेको प्रतिवेदनको सुझाव छ ।

धितोपत्र बजारमा सहभागीहरूको सूचना प्रवाहलगायत सुशासनको कमजोर अभ्यास र धितोपत्रको दोस्रो बजार सुपरीवेक्षण पूर्वाधार तथा अभ्याससम्बन्धी कमीकमजोरीका कारण समेतसेयर बजारमा ठूलो उतारचढाव आउने गरेको अध्ययनमा उल्लेख छ । ‘यसमा सुधारका लागि सूचना प्रवाहलगायत सुशासनसम्बन्धी ऐन नियमका व्यवस्था तथा सम्बन्धित निर्देशनको परिपालना गराउन बजार सुपरीवेक्षणको सुदृढ पूर्वाधार तयार गर्नुका साथै कानुन प्रबलीकरण काम प्रभावकारी बनाउनुपर्ने,’ प्रतिवेदनमा उल्लेख छ । बजारमा भित्री कारोबार मौलाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्रोतले बताएको छ । धेरै कम्पनीका सेयर मूल्य प्रभावित हुने निर्णय सार्वजनिक गर्नुअघि सेयर मूल्य अत्यधिक बढ्नु र ती निर्णय घोषणापछि सेयरमूल्यको वृद्धि रोकिनुले भित्री कारोबार भएको पुष्टि हुने स्रोतले बताएको छ । नियामक निकाय धितोपत्र बोर्डले प्रभावकारी रूपमा नियमन तथा सुपरीवेक्षण गर्न नसक्दा यस्तो गतिविधि मौलाएको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकले पनि मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सेयर कर्जामा कडाइ गर्ने संकेत देखाएको छ । समीक्षामा जोखिमयुक्त मानिएका क्षेत्र व्यक्तिगत अधिविकर्ष कर्जा, सेयरधितो कर्जा तथा रियल इस्टेट कर्जासम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरिने उल्लेख छ । अर्थतन्त्रका अन्य क्षेत्रमा राम्रो सुधार हुन नसकिरहेको अवस्थामा कर्जा अनुत्पादक क्षेत्रमा प्रवाह नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यी क्षेत्रमा कडाइ गर्ने तयारी भएको बताइएको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको